काठमाण्डौं, २६ चैत । सम्झौता भएको झण्डै पाँच वर्षपछि स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माण अघि बढ्ने भएको छ । सडक निर्माण कार्य  अघि बढाउन निर्माण कम्पनी यही अप्रिलमै आउने तय भएको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाका प्रमुख ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

केही समय पहिले चिनियाँ दूतावासका प्रतिनिधि निर्माणस्थल पुगेका थिए । सो अवसरमा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी, आयोजना प्रमुख र दूतावासका दुईजना प्रतिनिधिबीच सडक निर्माण अघि बढाउने विषयमा छलफल भएको थियो । उक्त बैठकमा चिनियाँ पक्षले नेपाल सरकारले काम अघि बढाउनुपर्ने भनेको जानकारी गराएको थियो ।

उक्त सडक खण्डमा अहिले कतिपय स्थानमा बिजुलीको पोल स्थानान्तरणको समस्या रहेको  छ ।

सरकारले सन् २०१८ मा चीन सरकारको सहयोगमा  सो सडक निर्माण गर्ने गरी सम्झौता गरेको थियो । कोभिडभन्दा पहिले निर्माण कम्पनी निर्माणस्थल पुगेको थियो । त्यतिबेला चिनिँया नयाँ वर्षको कारण उनीहरु चीन गएको र त्यसपछि फर्किएन।

“तत्कालीन समयमा चिनियाँहरु नयाँ वर्ष मनाउने चीन गएपछि कोरोना महामारी सुरु भयो र उनीहरु समयमै फर्कन पाएनन्”, योजनाका प्रख ध्रुवकुमार श्रेष्ठले भन्नुभयो ।

विसं २०७२ मा नाकाबन्दीपछि चीनतर्फको नाका खोल्नका लागि सरकारले सो योजनालाई प्राथमिकतामा राखेको थियो । भारत र चीन जोड्ने द्विदेशीय नाकाका रुपमा विकास गर्न खोजिएको योजनाले जनाएको छ । पहिले रसुवाबाट चीन जोड्न धुन्चेको बाटो प्रयोग हुने गरेको थियो । रसुवाको सदरमुकाम धुन्चे पुग्न बढी उचाइमा जानुपर्ने र साँघुरो, घुम्ती बढी भएकाले नयाँ सडकको अवधारणा ल्याइएको प्रमुख श्रेष्ठको भनाइ छ ।

बेत्रावतीबाट माथिल्लोतर्फ लाग्दा धुन्चे पुगिने र देब्रे लाग्दा त्रिशूलीको किनारैकिनार मैलुङहुँदै स्याफ्रुबँेसी गएर पुरानो बाटोमा भेटिन्छ । यो सडक खोलाको किनारै किनार जाने र साँघुरा घुम्ती नरहेको उहाँले बताउनुभयो । लम्बाइका हिसाबले पनि सडक झण्डै २५ किमी छोटो हुनेछ । उहाँले भन्नुभयो, “तुलनात्मक रुपमा छोटो छ र उकालो ओरालो पनि कम रहेको छ ।”

रसुवागढीसम्म पुग्ने सडक पृथ्वी राजमार्गको गल्छीबाट सुरु हुन्छ । गल्छीबाट नारायणगढहुँदै वीरगञ्जको थोरी हुँदै रक्स्यौल नाका जोड्न सकिन्छ । गल्छीबाटै सङ्घीय राजधानी काठमाडौँ वा पश्चिमतर्फ पोखरा वा बुटवल जान सकिन्छ ।

कोभिडको समयमा कुनै पनि काम नभएकामा अहिले निर्माण अघि बढाउने उद्देश्यले दातृ निकाय आउन थालेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा विजय जैसीले बताउनुभयो ।

चीनसँग जोड्ने छोटो मार्गका रुपमा रहेको गल्छीबाट स्याफ्रुबेँसी हुँदै रसुवागढीसम्मको सडक व्यापारिक हिसाबलेसमेत महत्वपूर्ण छ । विसं २०७२ मङ्सिर १७ गते मन्त्रिपरिषद्को बैठकले यो सडकलाई सहायक मार्ग तोकी राष्ट्रिय गौरवको मान्यता दिएको थियो ।

दुई देशबीचको छोटो दूरीको व्यापारिक मार्गका रुपमा स्थापित गर्ने सरकारको योजना थियो । योजनाले खासगरी धादिङ, नुवाकोट र रसुवा गरी तीन जिल्लालाई जोड्छ । चितवनको भण्डारालाई सुरु बिन्दु मान्दा भने चार जिल्लापर्छ । भण्डाराबाट गल्छीसम्मको सडक भने डिभिजन सडक कार्यालयले हेरिरहेको छ । सरकारले यसलाई उत्तर-दक्षिण राजमार्गका रुपमा सूचीकृत नगरे पनि भण्डाराबाट रसुवागढीसम्मको सडकले भारतको सीमा हुँदै चीनको सीमासम्म छुन्छ।

गल्छीबाट मैलुङसम्मको सडकको लम्बाई ४६ किमी, दोस्रो खण्ड मैलुङदेखि स्याफ्रुबेँसीसम्मको सडकको लम्बाइ १९ किमी रहेको छ । स्याफ्रुेबँसीबाट रसुवागढी झण्डै १७ किमी लम्बाइ छ । गल्छीबाट नै रसुवागढीसम्मको सडक ८२ किमी छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर