काठमाण्डौं, १७ चैत । आजदेखि भृकुटीमण्डपमा ‘२४औँ फ्लोरा एक्स्पो’ (पुष्प मेला) सुरु भएको छ । पुष्प व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एशोसियसन नेपालले मेला आयोजना गरेको हो ।
मेलाको उद्घाटन गर्दै उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले स्वदेशी वस्तुको उत्पादन र प्रवर्द्धनमार्फत आयात प्रतिस्थापन अहिलेको मुख्य दायित्व रहेको रहेको बताउनुभयो । “सुशासन, पुँजीगत खर्च र आन्तरिक उत्पादन बढाएर आयात प्रतिस्थापनलाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेछ । त्यसका लागि सबै क्षेत्रको सहकार्य आवश्यक छ”, श्रेष्ठले भन्नुभयो ।
मेलाबारे जानकारी दिनुहुँदै फ्लोरिकल्चर एसोसियसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले अहिले नेपालमा कृषि क्षेत्रमा लगानी घट्दै जाँदा उत्पादन खुम्चिएको र त्यसले आयात बढ्न गएको बताउनुभयो । अहिले पुष्प व्यवसायमा रू सात अर्ब बराबरको लगानी र रू दुई अर्ब ३० करोडको वार्षिक कारोबार रहेको उहाँको भनाइ छ ।
गत वर्षको तथ्याङ्कअनुसार भारतबाट रू ३६ अर्ब बराबरको पुष्प आयात भएको थियो ।
मेलामा ८० वटा स्टल छन् । जसमध्ये ६२ वटा व्यावसायिक स्टल, तीन वटा ल्यान्डेस्केपिङ स्टल, १० वटा अफिसियल स्टल, तीन वटा प्रतियोगितात्मक प्रदर्शनी स्टल र दुई वटा फुड स्टल छन् । मेलामा मौसमी फूल, कट् फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलका बीउबिजन, ग्रीन हाउस, कृषि औजार, विषादी, प्याकेजिङ सामग्रीलगायतका स्टल राखिएका छन् ।
पुष्प नर्सरी, आपूर्तिकर्ता कम्पनी, व्यावसायिक तथा विभिन्न सङ्घसंस्थाका साथै भारत र बङ्गलादेशका पुष्प व्यवसायी पनि मेलामा सहभागी रहेको आयोजकको भनाइ छ । मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीद्वारा उत्पादित फूल बिरुवाबीच प्रतिस्पर्धा गराई उत्कृष्टलाई पुरस्कृत गरिएको छ । पुष्पजन्य वस्तुको बजारीकरण, यस क्षेत्रसँग सम्बन्धित नयाँ ज्ञान तथा सीप, बजारको अवस्थालगायतका विषयमा जानकारी लिनका लागि यो मेला उपयुक्त अवसर रहेको एसोसियसनले जनाएको छ ।
‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ सुरु भएको मेला चैत २० गतेसम्म चल्नेछ ।
