काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १० बजे बस्ने उक्त बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्री र प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवारको चयनलगायत विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।
यही चैत ६ गते विश्वासको मत पुनः लिनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई विश्वासको मत दिने दललाई सरकारमा सहभागी गराउन आज मन्त्रिपरिषद् विस्तार गर्नुहुने बताइएको छ ।
९ दल सरकारमा जाने सैद्धान्तिक रूपमा मन्त्रालय सङ्ख्या टुङ्गो लाग्यो ।आज मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ ।’गठबन्धन बैठकमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।
