काठमाण्डौं, १६ चैत । त्रिदेशीय अन्तर्राष्ट्रिय कप फुटबलको उपाधि नेपालले हात पारेको छ । नेपालले आज सोमबार साँझ कठमाण्डौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई हराएर यो उपाधि जितेको हो ।
नेपालले यो खेल २-१ को गोल अन्तरले जितेको हो ।यो जितसँगै नेपाली फुटबल टिमले ३७ वर्षपछि घरेलु मैदानमा अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
आजको खेलको पूर्वाधको १८ औं मिनेटमा संजोग राईले पहिलो गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ४१ औं मिनेटमा विशाल राईले अर्को गोल गरेर नेपाली टोलीलाई २-० ले माथि पुर्याए ।
पूर्वाधपछि खेलको ८३ मिनेटमा बंगलादेशले गोल गर्यो । खेलको स्थिति २-१ हुनपुगेको थियो ।
आजको खेलमा नेपाली खेलाडीले सुरुदेखि पूर्वार्धको खेलभर वल पकडमा लिएर विपक्षीको पोष्टमा तारन्तार अक्रामक प्रहार गरेका थिए । कतिपय गोलका मौका चुकेका पनि थिए ।
खेलको उत्तरार्धमा ६०औं मिनेटपछि बंगलादेशका खेलाडीले खेललाई पूरैजसो आफ्नो पक्षमा पारेका थिए तर अर्को गोल थप्न सकेनन् ।
एन्फाले आयोजना गरेको यो प्रतियोगितामा नेपाल, बंगलादेश र किर्गिस्तानले भाग लिएका थिए । यो प्रतियोगिततालाई फिफाले मान्यता दिएको छ ।
यसको हारजितले फुटवलको अन्तरराष्ट्रिय वरियतामा प्रभाव पार्दछ ।
यो प्रतियोगिताको उपाधिसँगै नेपाली फुटवल टिमले पाँच हजार अमेरिकी डलरको नगद राशीको पुरस्कार पनि प्राप्त गरेको छ ।
बंगलादेशले दोस्रो स्थानमा रहेर दुई हजार पाँच सय डलरमा चित्त बुझाएको छ ।
प्रतियोगितामा तीनै देशका टिमले एक अर्कोसँग खेलेका थिए । यसरी लिग प्रकृयामा भएका दुबै खेलमा नेपाल एक गोल पनि नगरी बराबरी खेलेर दुई अंक लिएर फाइनलमा पुगेको थियो ।
उता बंगलादेश भने लिग चरणमा किर्गिस्तानलाई १-० हराउनुको साथै नेपलसँग गोलरहीत बराबरी खेल्दै चार अंकका साथ फाइनलमा पुगेको थियो।
किर्गिस्तान एक हार र एक बरावरी खेली जम्मा एक अंक लिई समूह चरणबाट बाहिरिएको थियो ।
आजसहित नेपाल र बंगलादेशबीच २४ पटक प्रतिस्पर्धा भएको छ । त्यसमा बंगलादेशले १३ खेल जितेको छ भने नेपालले ७ खेल जितेको छ । ४ खेल बराबरीमा सकिएको छ ।
नेपालले बंगलादेशसँग सन् १९८३ मा पहिलो पटक फुटबल खेलेको थियो । तर उपाधिलागि भने नेपाल आजसमेत गरी बंगलादेशसँग तेस्रो पटक खेलेको हो ।
हाल नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जन हुनुहुन्छ ।
