काठमाण्डौं, १३ फागुन । आइसिसी यू-१९ विश्वकप छनोट अन्तर्गत भएको खेलमा नेपालले आज कुबेतमाथि सानदार जित निकालेको छ । युएईमा जारी यो प्रतियोगितामा नेपालले कुवेतलाई २४३ रनको फराकिलो अन्तरले आज पराजित गर्यो। नेपालको यो लगातार दोस्रो जित हो ।
यसअघि नेपालले शुक्रबार भएको पहिलो खेलमा सिंगापुरलाई ९६ रनले हराएको थियो।
नेपालले कसबेतलाई ३४४ रनको विशाल लक्ष्य दिएको थियो । यो लक्ष्य पछ्याएको कुवेत ३०.५ ओभरमा १०० रनमा अलआउट भयो।
कुवेतका ओपनरद्वय किशोरभाइ हिन्सुले १६ रन र क्रिस्टोफर सल्धानाले २६ रन बनाए। यस्तै युसुफ मोहमदले १९ रन बटुले।
बलिङमा नेपालका आकाश चन्दले ६ विकेट लिए। उनले ९.५ ओभरमा ४३ रन खर्चिए। हेमन्त धामी र दिपेश कडेँलले २-२ विकेट लिए।
त्यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा ३४३ रन जोडेको थियो। नेपालका लागि ओपनिङ ब्याट्सम्यान अर्जुन कुमालले १०८ रन जोड्दा कप्तान देव खनालले १२५ रन बटुले।
कुमालले ११२ बलमा १२ चौका हिर्काए भने खनालले ११७ बलमा ७ चौका र ३ छक्का प्रहार गरे।
ओपनर दीपक बोहरा ‘ए’ ले १३ रन जोड्दा आकाश त्रिपाठी २ रनमै आउट भएका थिए। विशालविक्रम केसीले २३ रन र दीपक बोहरा ‘बी’ ले १९ रन बटुले। दीपक डुम्रेले नटआउट २० रन जोडे।
नेपालले अब तेस्रो खेल फागुन १५ गते हङकङसँग खेल्नेछ।
छनोट प्रतियोगितामा नेपालसहित घरेलु टिम युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुर गरी ६ टिमबीच प्रतिस्पर्धा हुँदैछ।
२ मार्चसम्म हुने प्रतियोगिताको च्याम्पियन टिमले आगामी वर्ष हुने विश्वकपमा स्थान बनाउनेछ।
नेपालले सन् २०१६ देखि यू-१९ विश्वकपमा स्थान बनाउन सकेको छैन।
