काठमाण्डौ, १७ । बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालत पाटनको आदेश विरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता भएको छ ।
महान्यायाधिवक्ताको कार्यालयले आज उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गरेको हो ।
लामिछानेलाई उक्त मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश खारेज गर्दै शर्तसहित रु २० लाख धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेश खारेज हुनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दर्ता भएको हो ।
उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजालासले गत पुस २८ गते लामिछानेलाई रु २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न आदेश गरेको थियो ।
लामिछानेमाथि १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ गते काठमाडौँ अदालतमा मुद्दा दायर गरिएको थियो । लामिछाने विरुद्ध नाबालिकमाथि जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि उनलाई न्यायिक हिरासतमा राखिएको थियो । प्रहरीले गत असोज २० गते लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो ।
