काठमाडौँ, १३ माघ ।  नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपतिको चयन हुनुपर्नेमा जोड दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले राष्ट्रिय सहमतिका आधारमा नै राष्ट्र प्रमुख चयन हुनुपर्नेमा जोड दिएको हो । बैठकमा बोल्ने अधिकांशले संवैधानिक भूमिका रहने भए पनि राष्ट्रपति चयन गर्दा सबै पाटा र पक्षलाई ख्याल गर्न सक्ने र सबैको स्वीकार योग्य व्यक्ति आवश्यक रहेकामा जोड दिइएको पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय सहमतिअनुसार नै राष्ट्रपति चयन गर्न पहल गर्ने विषयमा नै अधिकांश स्थायी समिति सदस्यले आफ्ना धारणा राख्नुभएको छ । हामीले दलहरूसँग छलफल गर्छौ । कहाँ राष्ट्रिय सहमति हुन्छ ।” बैठकमा विभिन्न पार्टीसँग पछिल्ला दिनमा भएका पार्टी एकतासम्बन्धी छलफलका क्रममा भएका विषयमाथिको प्रतिवेदन उपाध्यक्ष महराले पेश गर्नुभएको थियो ।

बैठकमा पार्टीको सङ्गठनसम्बन्धी प्रतिवेदन उपमहासचिव जनार्दन शर्मा र स्कुलिङसम्बन्धी प्रतिवेदन गिरिराजमणि पोखरेलले पेश गर्नुभएको थियो । माओवादीको स्थायी समिति बैठक यही माघ १६ गते बिहान ११ बजे पुन बस्नेछ । —

प्रतिक्रिया

सम्बन्धित खवर