
काठमाण्डौं, ६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको उपसभामुखको लागि मुक्ता यादवलाई उम्मेदवार बनाएको छ।
सो पार्टीको आज शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले कांग्रेस केन्द्रीय सदस्य सांसद मुक्तालाई सो पदको लागि उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
उहाँले आजै उम्मेदवारी दर्ता गराउनु भयो । मुक्ता समानुपातिकतर्फको सांसद हुनुहुन्छ ।
उहाँलाई कांग्रेस सांसद बद्री पाण्डेको प्रस्तावमा लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरीको समर्थन छ ।
सो पदको लागि सत्तापक्षीय गठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरलाई उम्मेदवार बनाएको छ ।
उम्मेदवारको नामावली पनि आजै साँझ प्रकाशित गरिनेछ भने मतदान भोलि शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा हुनेछ। बैठक दिउँसो १ बजेको लागि बोलाइएको छ।