काठमाडौँ, २९ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । साठी सदस्यीय प्रदेशसभामा विश्वासको मतका पक्षमा ३१ र विपक्षमा २७ मत खसेको थियो ।
मुख्यमन्त्री अधिकारीलाई विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा नेकपा (एमाले) का २१, माओवादीका आठ र राप्रपाका दुई सांसदले मतदान गर्नुभएको थियो भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २७ सदस्यले विपक्षमा मतदान गर्नुभएको हो ।
एमालेबाटै निर्वाचित भएर सदनको अध्यक्षता गर्नुभएका मित्रलाल बस्यालले मतदान गर्नुभएन भने स्वतन्त्र सांसद राजीव गुरुङ बैठकमा अनुपस्थित हुनुभयो ।
एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । अधिकारीले गठबन्धनका तर्फबाट ३३ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरे पछि मुख्यमन्त्रीमा नियुक्त हुनुभयो ।
१ नं प्रदेश सरकारलाई विश्वासको मत
प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रस्तावको पक्षमा ५९ मत परेको थियो । प्रस्तावको विपक्षमा नेपाली कांग्रेसका २८ र नेकपा एकीकृत समाजवादीको चार गरी ३२ मत परेको थियो । कांग्रेसका प्रदेशसभा सदस्य प्रदीप सुनुवार अनुपस्थित रहनुभएको थियो ।
