काठमाण्डौं, २३ पुस । आहारारा पोखरा गोल्डकपको २२ औं संस्करणको उपाधि संकटा क्लबले जितेको छ । आज शनिबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको फाइनल खेलमा संकटाले अमेरिकी टिम भुटनिज युथलाई ३–२ गोलअन्तरले पराजित गर्दै सो उपाधि जितेको हो ।
योसँगै संकटाले आहारारामा दोस्रो पटक उपाधि सुरक्षित गरेको छ । यसअघि संकटाले ०७७ को आहारारा गोल्डकपको उपाधि जितेको थियो ।
०७७ को फाइनलमा संकटाले अफ्रिकन रुट्सलाई ट्राइब्रेकरमा पराजित गरेको थियो ।
आजको खेल पनि निर्धारित ९० मिनेटको समयमा टुंगोमा पुगेको थिएन । दुबै टोली २/२ गोलको बराबरीमा थिए । त्यसपछि आधा घण्टा थप खेलाईएको थियो ।
त्यसको २६ औं मिनेटमा संकटाका कप्तान सुनिल बलले गोल गरेर उपाधि सुनिश्चित गरेका हुन् ।
संकटाको जितमा सुरजज्यू ठकुरी, मेस्सुके ओलामाउ र सुनिल बलले एक/एक गोल गरे ।प्रतिस्पर्धी विदेशी टिम भुटनिज युथ स्पोर्टस क्लबका तर्फबाट रेने स्यान्टिलन र विलिस ग्रिफिटले पनि एक/एक गोल गरे ।
प्रतियोगिता विजेता संकटाले १२ लाख रुपैयाँ र उपविजेता भुटनिजले ६ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा संकटाले साविक विजेता टोली एपीएफलाई ४–१ को फराकिलो अन्तरले स्तब्ध गर्दै फाइनल यात्रा तय गरेको थियो ।
त्यसैगरी बिहीबार भएको दोस्रो सेमिफाइनलमा अमेरिकी टिम भुटनिज युथगेको आहारारामा नवप्रवेशी टिम चर्च ब्वाइजलाई १–० ले हराउँदै फाइनलमा पुगेको थियो ।
