काठमाडौँ, १३ पुस । निवर्तमान प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाट सर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटरस्थित सरकारी निवासबाट सर्नुभएको हो ।
बुढानिलकण्ठस्थित निजी निवास हाल मर्मत् भइरहेकाले उहाँ धुम्बाराहीस्थित भाडाको घरमा सर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । उहाँ २०७८ साल असार २८ गते पाचौँ पटक प्रधानमन्त्रीमा नियुक्त हुनु भएपछि निवर्तमान प्रधानमन्त्री देउवा सरकारी निवासमा बस्दै आउनुभएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार सरकारी निवास बालुवाटारमा सर्ने हुनु भएको छ । अपराह्न ५ बजे बालुवाटार सर्ने तय भएको सचिवालयले जनाएको छ । –
