काठमाडौँ, ११ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएपछि आजै सानो आकारको मन्त्रिमण्डल बनाउने नेकपा (माओवादी केन्द्र)ले निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले मन्त्रिपरिषद्मा पार्टीका तर्फबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई सहभागी गराउने निर्णय गरेको हो ।
श्रेष्ठले सम्हाल्ने मन्त्रालयका बारेमा टुङ्गो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
नयाँ सत्ता गठबन्धनको बैठक संसद् भवन नयाँबानेश्वरमा केही समयपछि बैठक सुरु गर्ने तयारी भइरहेको छ । बैठकमा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति सहभागी हुने छन् ।प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम राखिएको छ ।
