
काठमाडौ, १० चैत । रुघा लगाउने भाइरसले मानिसको शरीरका कोषहरूबाट कोरोनाभाइरसलाई गलहत्यादिन सक्ने तथ्य अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् ।
मानवकोषमा आफूले सङ्क्रमण गर्ने प्रयासमा केही भाइरसहरूबीच प्रतिस्पर्धा हुने गर्छ ।
यूनिभर्सिटी अफ ग्लास्गोका वैज्ञानिकहरूका अनुसार रुघा लगाउने राइनोभाइरसले कोरोनाभाइरसलाई पराजित गरेको पाइएको छ ।
त्यसको लाभ छोटो समयका लागि मात्र हुन सक्छ ।
तर राइनोभाइरस धेरै फैलिएको हुनाले त्यसले कोभिडलाई दमन गर्न सहयोग गर्न सक्छ ।
कोरोनाभाइरस कसरी पराजित हुन्छ ?
तपाईँ आफ्ना नाक, घाँटी र फोक्सोका कोषहरूलाई लहरै बसेका घर भन्ठानूस् । एउटा भाइरस एकचोटि भित्र छिरेपछि त्यसले अरू भाइरसलाई भित्र प्रवेश गर्न दिन या त ढोका खोलिदिन्छ या ढोका बन्द गरेर त्यहाँ आफू मात्र बस्न खोज्छ ।
रुघाको कारक इन्फ्लूएन्जा भाइरस एकदमै स्वार्थी हुन्छ र त्यसले प्रायः एक्लै सङ्क्रमण गर्छ । एडिनोभाइरसजस्ता अरू भाइरसहरू अरूसँग मिलेर सङ्क्रमण गर्छन् ।
कोभिड गराउने सार्स(कोभ२ (सार्स कोभ २) नाम दिइएको कोरोनाभाइरसले अन्य भाइरससँग कसरी अन्तर्क्रिया गर्छ भन्नेबारे धेरै अनुमान गरिएको छ ।
तर एक वर्ष भौतिक दूरीका नियमहरू लागु गरिएकाले सबै किसिमका भाइरस फैलिने क्रममा सुस्तता आएको छ । त्यसका कारण भाइरसको अन्तर्क्रियाबारे अध्ययन गर्न वैज्ञानिकहरूलाई अझ गाह्रो भएको छ ।
ग्लास्गोस्थित सेन्टर फोर भाइरस रिसर्चको अनुसन्धान टोलीले मानिसको श्वासनलीको प्रतिकृति प्रयोग गरेर एउटा अध्ययन गर्यो । त्यसका लागि उस्तै खालका मानवकोषहरू प्रयोग गरिएको थियो । ती कोषलाई सार्स कोभ२ भाइरस र राइनोभाइरसबाट सङ्क्रमित पारियो।
एकैचोटि राइनोभाइरस र सार्स कोभ२ को संसर्ग गराइँदा कोषमा केवल रुघा लगाउने राइनोभाइरसले सङ्क्रमण गर्न सक्यो । चौबीस घण्टाअगाडि नै राइनोभाइरस प्रवेश गरेको कोषमा कोरोनाभाइरसले प्रभाव पार्ने अवसर नै पाएन ।
अनि यदि कोरोनाभाइरस २४ घण्टाअगाडि नै संसर्गमा आएको छ भने पनि राइनोभाइरसले त्यसलाई कोषबाट निकालिदिन्छ ।
सार्स कोभ २ फैलिन सक्दैन, राइनोभाइरसले यसलाई रोकिदिन्छ, डा.पाब्लो मर्सियाले बीबीसी न्यूजलाई बताउनुभयो ।
यो एकदमै उत्साहप्रद छ किनभने राइनोभाइरसको आधिक्य छ भने त्यसले सार्स कोभ २ को सङ्क्रमण रोक्न सक्छ, उहाँले भन्नुभयो ।
पहिला पनि यस्ता प्रभावहरू देखिएका थिए । सन् २००९ मा राइनोभाइरस फैलिन थालेपछि युरोपका केही भागमा स्वाइन फ्लू महामारीको गति सुस्त भएको थियो ।
चिसो, फ्लू र कोभिड१९ का लक्षण कसरी छुट्याउने
थप प्रयोग र परीक्षण गर्दा राइनोभाइरसबाट सङ्क्रमित कोषमा रोग प्रतिरोध गर्ने क्षमता बढेको र त्यसले कोरोनाभाइरसको सङ्ख्या वृद्धि गर्ने क्षमता अवरुद्ध भएको देखिएको छ ।
वैज्ञानिकहरूले त्यस्तो प्रतिरोधात्मक प्रतिकार्यलाई रोकेर हेर्दा कोभिड गराउने भाइरसको तह राइनोभाइरस नभएको अवस्थामा जस्तै बढेको पाए ।
तर रुघा निको भइसकेपछि तथा राइनोभाइरसको प्रतिरोधात्मक प्रतिकार्य निस्तेज भइसकेपछि कोभिड हुने सम्भावना कायम रहन्छ ।
खोप, सरसफाइका उपाय अनि भाइरसहरूबीच हुने अन्तर्क्रियाले सार्स कोभ २ ठूलो मात्रामा घटाउन सक्छ । तर खोपबाट नै अधिकतम प्रभाव पर्छ डा.मर्सियाले भन्नुभयो ।बीबीसी