काठमाडौँ, ३ पुस । नेपाली कांग्रेसले आफ्नो पार्टीको नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले आगामी सरकार कांगे्रसकै नेतृत्वमा गठन गर्न पहल गर्ने निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।
कांग्रेसले पार्टी संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति बनाएको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो । समितिको सदस्यमा पुष्पा भुसाल र प्रकाश स्नेही रहेका छन् ।
बैठकमा निर्वाचनपछिको समीक्षा, समसामयिक राजनीतिकलगायत विषयमा छलफल भएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।
