काठमाडौँ, १४ मङ्सिर ।  कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘बी’ बाट इङ्ग्ल्याण्ड र अमेरिका नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह ‘बी’ को तेस्रो तथा अन्तिम निर्णायक खेलमा गए राति इङ्ग्ल्याण्डले वेल्सलाई र अमेरिकाकाले इरानलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेका हुन् । इङ्ग्ल्यान्डले वेल्सलाई ३–० गोलअन्तरले हरायो । इङ्ग्ल्यान्डका लागि मार्कुस राषफोर्डले दुई गोल गरे भने फिल फोडेनले एक गोल गरे । खेलको ५०औँ मिनेटमा राषफोर्डले गोल गर्दै इङ्ग्ल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ५२औँ मिनेटमा फोडेनले गोल गर्दै इङ्ग्ल्याण्डलाई २–० को अवस्थामा पु¥याए । खेलको ६८औँ मिनेटमा राषफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ग्ल्याण्डलाई ३–० को सहज जित दिलाए । जितसँगै इङ्ग्ल्यान्ड समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । इङ्ग्ल्याण्ड तीन खेलमा सात अङ्क जोड्दै शीर्षस्थानमा छ । वेल्स भने एक अङ्क जोडेर पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यसैगरी कतारको अलथुमामा रङ्गशालामा सम्पन्न अर्को खेलमा इरानलाई १–० गोलअन्तरले हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे । उनले खेलको ३८औँ मिनेटमा गोल गरेका थिए । जितसँगै अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिकाले तीन खेलबाट पाँच अङ्क जोडेको छ । इरान तीन अङ्क जोडेर तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर