त्रिशूली, १० मङ्सिर । नुवाकोटको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित हुनुभएको छ ।

सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा रहनुभएका कांग्रेसका उम्मेदवार केसीले २८ हजार एक सय सात मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार चारसय ७७ र नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार पाँच सय ६१ मत ल्याउनुभयो । यसअघि विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार खतिवडासँग दश हजार मतान्तरले पराजित हुनुभएका केसी यो पटक खतिवडाभन्दा १२ हजार पाँच सय ६४ मतान्तरले निर्वाचित हुनुभएको हो ।

यही मङ्सिर ४ मा भएको निर्वाचनमा खसेको कूल ७७ हजार चार मतको आज बिहान सम्पन्न गणनाको नतिजाअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार झनक प्याकुरेलले एक हजार पाँच सय ७१ मत ल्याउनुभएको छ भने चुनावी प्रतिस्पर्धामा तीन स्वतन्त्रसहित ११ मध्ये अन्य उम्मेदवारको मत एक हजारभन्दा कम रहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो । यस निर्वाचन क्षेत्रको प्रदेश–२ को गणना जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर