किमाथाङ्का, ९ मङसिर । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक खड्का निर्वाचित हुनुभएको छ । कांग्रेसका खड्काले ३२ हजार एक सय ५८ मत ल्याएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले २६ हजार सात सय १९ मत ल्याउनुभएको छ । खड्काले पाँच हजार चार सय ३९ मतान्तरले विजयी हुनुभएको हो । विसं २०७० को निर्वाचनमा खड्काले एमालेका गौतमलाई पराजित गर्नुभएको थियो । खड्का कांग्रेस सङ्खुवासभाका जिल्ला सभापतिसमेत हुनुहुन्छ ।

जिल्लामा प्रतिनिधिसभातर्फ ६५ हजार तीन सय ३७ मत खसेको थियो । त्यसमध्ये दुई हजार सात सय ५७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभामा दुई स्वतन्त्रसहित १२ जनाले उम्मेदवारी दिएका थिए । प्रदेशसभा (१) मा नेकपा(माओवादी केन्द्र) का राजेन्द्र कार्की (नविन) निर्वाचित हुनुभएको छ । कार्कीले १३ हजार चार सय ३३ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँले ३४ मतान्तरले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भविश्वर गुरुङले १३ हजार तीन सय ९९ मत ल्याउनुभएको छ । पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेशसभा (१) मा ३१ हजार पाँच सय चार मत खसेको थियो ।

स्याङ्जा–१ मा कांग्रेसका थापा विजयी
स्याङ्जा–१ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाबाट थापाले नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई पराजित गर्नुभएको छ । थापाले दुई हजार चार सय ५५ मतान्तरले मरासिनीलाई पराजित गर्नुभयो ।

थापाले ३१ हजार नौ सय ९९ मत पाउँदा उहाँका प्रतिस्पर्धी मरासिनीले २८ हजार सात सय ४४ मत प्राप्त गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मीले छ हजार ६५ मत प्राप्त गर्नुभएको हो ।

थापा र मरासिनीबीच तेस्रो पटक प्रतिस्पर्धा भएको हो । स्याङ्जा क्षेत्र नं. १ मा २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका थापा विजयी हुनुभएको थियो । विसं २०७४ को निर्वाचनमा एमाले नेता मरासिनी विजयी हुनुभएको थियो । स्याङ्जा–१ (१) मा नेकपा एमालेका सुधीरकुमार पौडेल विजयी हुनुभएको छ । १ (२) मा नेकपा एमालेकै सीता सुन्दास विजयी हुनुभएको छ ।—

प्रतिक्रिया

सम्बन्धित खवर