काठमाण्डौं, ९ चैत । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट नेपालका गैँडाको गणना शुरु गरिएको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आज बिहान सिटी फुकेर गैँडा गणनाको शुभारम्भ गर्नुभयो ।
गैंडा गणना चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार गणनामा ४० वटा हात्ती र २०० जनशक्ति परिचालन गरिएको छ । दुई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती गणनामा प्रयोग गरिएका छन् । कोशीमा दरबन्दी रहेर यहाँ रहेका हात्ती र मध्यवर्ती क्षेत्रमा केही निजी हात्तीलाई पनि गणनामा प्रयोग गरिने छ । बरालका अनुसार ४० मुख्य गणक र वैकल्पिक २० लाई गणनामा खटाइँदै छ । यसका अतिरिक्त हात्तीको दरबन्दीमा रहेका कर्मचारी खटिएका छन् । गणनामा खटिएकालाई यही चैत ६ र ७ गते सौराहामा तालीम दिइएको थियो ।
गैँडा गणना गर्न लगभग २० दिन लाग्ने छ । गैँडा गणना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुु संरक्षण विभागको नेतृत्वमा भएको हो ।
अन्य दुई निकुञ्ज बर्दियामा चैत १७ गतेदेखि र शुक्लाफाँटामा १९ गतेदेखि गणना शुरु गरिँदै छ । आजबाट सुरु गरिएको गैडा गणना चैत २९ गतेसम्ममा चारवटै निकुञ्जमा सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ ।
गत वर्ष चैत ११ गतेदेखि गैँडा गणना गर्ने भनिएकोमा कोरोना सङ्क्रमणका कारण स्थगन भएको थियो ।
गैँडाको सङ्ख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक पाँच–पाँच वर्षमा गैँडा गणना गरिँदै आएको थियो । पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ गैँडा रहेको तथ्यांक सार्वजनिक गरिएको थियो ।