काठमाडौँ, ८ मङ्सिर । बारा–४ मा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादीका) उम्मेदवार कृष्णकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

उहाँले छ हजार चार सय ३४ मतान्तरले विजयी हुनुभएको हो । उहाँले २० हजार दुई सय ९७ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का एकवाल मियाले १३ हजार आठ सय ६३ मत मात्र प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

 दैलेख–१ नेकपा (एस) का थापा विजयी

दैलेख–१ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा(एकीकृत समाजवादी) का अमरबहादुर थापा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेससभा निर्वाचनको मतपरिणाम अनुसार उहाँले १८ हजार दुई सय ५६ मतले विजयी हुनभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रवीद्रराज शर्माले १७ हजार चार सय सात मत प्राप्त गर्नुभयो ।

विसं २०७४ प्रदेशसभामा विजयी हुनुभएका थापाले यसपटक प्रतिनिधिसभा सदस्यमा विजय हुनुभएको हो । विसं २०७४ को निर्वाचनमा थापाले नेपाली कांग्रेसका जगजङ्ग थापालाई पराजित गर्नुभएको थियो ।

प्रतिनिधिसभा सदस्यमा ४० हजार तीन सय ८७ मत खसेको थियो । कूल मत मध्ये १६ सय ५७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सल्यानमा ज्वाला विजयी

सल्यानबाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वाला विजयी हुनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव एवं कर्णाली प्रदेश इञ्चार्जसमेत रहेका ज्वालाले ३५ हजार सात सय मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार ज्वालाले १५ हजार नौ सय ११ मतान्तरमा विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार सात सय ८९ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रवीर रायले तेस्रो १३ हजार २९ मत प्राप्त गर्नुभएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका अनुसार गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एक लाख ५७ हजार सात सय एक मतदाता सङ्ख्या भएकामा ८४ हजार ८८ मत खसेको थियो ।
डोटीबाट आले निर्वाचित
प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार प्रेमबहादुर आले विजयी हुनुभएको छ ।

उहाँले २७ हजार दुई सय १० मत ल्याई पुनः विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की गौरी ओलीले २३ हजार चार मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर