दमौली, ८ मङ्सिर । तनहुँ–१ प्रदेश (१) मा नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ विजयी हुनुभएको छ । वाम– लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका उहाँ प्रतिस्पर्धीभन्दा चार हजार दुई सय १८ बढी मत प्राप्त गरी प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो ।
गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सार्वजनिक मतपरिणामअनुसार श्रेष्ठले १५ हजार तीन सय ६३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।
प्रतिस्पर्धी नेकपा (एमाले) का रामबहादुर गुरुङले ११ हजार एक सय ४५ मत प्राप्त गर्नुभएको छ । यो प्रदेशमा ३६ हजार चार सय ३१ मत खसेको थियो । उक्त प्रदेशमा व्यास नगरपालिका २, ३, ४, ७, ८, ९, १०, ११ र भानु नगरपालिकामा पर्दछ । नवनिर्वाचित श्रेष्ठ कांग्रेसको महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।
लमजुङ प्रदेश (२) मा कांग्रेसका पौडेल विजयी
आइतबार सम्पन्न प्रनितिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत लमजुङ प्रदेश (२) मा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार भेषबहादुर पौडेल विजयी हुनुभएको छ । भर्खर सम्पन्न मत गणना अनुसार नेकपा (एमाले)का उम्मेदवार कृष्णप्रसाद अधिकारीलाई सात सय ५८ मतअन्तरले पछि पार्दै पौडेल विजयी हुनुभएको हो ।
जिल्ला निर्वाचन कार्यालय प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार विजयी पौडेलले १९ हजार पाँच सय ५७ मत प्राप्त गर्नुभएको छ भने अधिकारीले १८ हजार आठ सय तीन मत प्राप्त गर्नुभएको छ । विजयी घोषणा हुन भने बाँकी रहेको छ । समानुपातिको मत गणना गर्न बाँकी रहेकाले समानुपातिक मत गणना सम्पन्न गरेर घोषणा गर्ते तयारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
विजयी पौडेल कांग्रेसका पूर्वजिल्ला सभापति हुनुहुन्छ । पराजित अधिकारी एमाले जिल्ला अध्यक्ष हुनुहुन्छ । यी दुवै नेता बेँसीसहर नगरपालिकाकै हुन् । यस क्षेत्रमा ४१ हजार आठ सय ५७ मत गणना भएको छ ।
