काठमाडौँ, ७ मङ्सिर । काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी हुनुभएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा केही बेरअगाडि सम्पन्न मतगणनामा खनालले १४ हजार दुई हजार चार मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत सम्झना खनालले राससलाई जानकारी दिनुभयो ।
उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का सर्वेन्द्र खनालले आठ हजार नौ सय ११ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले आठ हजार आठ सय पाँच मत प्राप्त गर्नुभएको खनालले बताउनुभयो ।
निर्वाचित खनाल टिच फर नेपालका संस्थापक हुनुहुन्छ । यस्तै, सर्वेन्द्र खनाल पूर्वप्रहरी महानिरीक्षक र प्रधान पूर्वरक्षामन्त्री हुनुहुन्छ ।
काठमाडौँ क्षेत्र नं ६ मा प्रतिनिधिसभामा २४ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो । जसमा १३ जना विभिन्न राजनीतिक दल र ११ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतकको कार्यालयले जनाएको छ ।
काठमाडौँको बागबजारदेखि गोँगबु हुँदै काभ्रेस्थलीसम्म फैलिएको क्षेत्रमा ३२ स्थानका ७५ मतदान केन्द्रमा मतदान भएको थियो । ६२ हजार एक सय दुई मतदाता रहेको यस निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३८ हजार नौ सय १० मत खसेको थियो । यस्तै, एक हजार पाँच सय ३२ मत बदर भएको छ ।
बर्दिया २ मा स्वतन्त्रका चौधरी विजयी
बर्दिया क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी हुनुभएको छ । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुरेश पन्थलाई एक सय ३६ मतले पछि पार्दै उहाँ विजयी हुनुभएको हो । चौधरीले २६ हजार पाँच सय २० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार तीन सय ८४ मत प्राप्त गर्नुभयो ।
यसैगरी नेकपा (एमाले)का पङ्कजसिँह राठौरले १६ हजार ९० मत प्राप्त गर्नुभयो भने राप्रपाका विनय रावलले १३ हजार दुई सय ९२ मत प्राप्त गर्नुभयो । विजयी चौधरी रेशम चौधरीका बुबा हुनुहुन्छ । रेशमको उम्मेदवारी खारेजी भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्रमा उम्मेदवारी दिनुभएका लालवीर चौधरीलाई सहयोग गरेको हो । क्षेत्र नं. २ मा एक लाख ५२ हजार ६२ मतदाता रहेकामा ९२ हजार एक सय ९९ मत खसेको थियोे भने पाँच हजार तीन सय ८७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
बर्दिया– २ (१) मा नेपाली कांग्रेसका थारू निर्वाचित
बर्दिया क्षेत्र नं २(१) प्रदेशसभा सदस्यमा नेपाली कांगे्रस भुवनेश्रर थारू विजयी हुनुभएको छ ।
उहाँले १६ हजार चार सय ७५ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का शालिकराम अधिकारीले १६ हजार तीन सय ८४ मत प्राप्त गर्नुभयो । निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो निर्वाचन क्षेत्रमा ५० हजार आठ सय ६५ मत खसेकामा दुई हजार एक सय २९ मत बदर भएको थियो ।
—
