बलेवा, ३ मङ्सिर । बागलुङ–गुल्मी सीमामा पर्ने पौँदी क्षेत्रमा यही मङ्सिर ५ गतेदेखि न्वागी खाने पर्व हुँदैछ ।
बर्सेनि धानबाली भित्र्याएपछि मङ्सिरमा यो पर्व मनाइन्छ । नयाँ चामलमा दही, केरा, सिलाम र चिनी मिसाएर न्वागी बनाई खाने प्रचलन छ । ज्योतिषीले निकालेको शुभमुहूर्तमा उत्तर फर्की न्वागी खाएपछि पर्वको सुरुआत हुनेछ ।

गुल्मीको मुसीकोट नगरपालिकाको नेटा, पौँदीअमराई, इस्मा र बागलुङको बडिगाड गाउँपालिकाको ग्वालीचौर, जलजला र दगामा एकै समयमा न्वागी खाने पर्व सुरु हुन्छ । पहिले नेपालमा टुक्रे राज्य हुँदा यी क्षेत्र इस्मा राज्यमा पर्थे । विसं १७३४ देखि बागलुङ पश्चिमको बडिगाड गाउँपालिका–५ खारमा यस्तै एक पर्व मनाइन्छ । जहाँ पुर्खाको योगदान, सहयोगी भवना र स्थानीयको खुसी समेटिएको छ ।

बाह्रौँ शताब्दीमा स्थापित खस राज्य मल्लकालीन समय अर्थात् १५औँ शताब्दीतिर टुक्रिन पुग्यो । जसबाट बनेका बाइसे र चौबीसे राज्यमध्ये इस्मा र मुसिकोट राज्यको भू–भागको रूपमा बागलुङका दगातुम्डाँडा, जलजला, पाण्डवखानीका केही भाग गुल्मीको इजरा क्षेत्रमा पर्दथ्यो । साथै दगाको केही क्षेत्र मुसिकोटको मौजासमेत रहेको इतिहास छ ।

सोही इतिहाससँग जोडिएको पौँदी क्षेत्रको आफ्नो छुट्टै इतिहास रहेको छ । बागलुङको साविक जलजला, ग्वालीचौर र गुल्मीको पौँदीअमराई गाविसलाई पाँैदी क्षेत्र भनिन्छ । यस क्षेत्रमा मगरहरूको उल्लेख्य बस्ती रहेको र उनीहरूकै खाम भाषामा ‘पोम’ भनेको हिमालय शिखर वा उच्च टाकुरा र डि भनेको पानी भन्ने हुन्छ । जुन शब्दपछि अपभ्रंश भएर पौँदी बन्न गएको बडिगाड–५ का स्थानीय कृष्णबहादुर घिमिरेले बताउनुभयो । “रुद्रतालबाट बगेको बडिगाड खोला र मदाने लेकबाट बगेको निस्ती खोलाको तटीय क्षेत्रलाई नै पौँदी क्षेत्र मानिएको इतिहास गुल्मी दरबारको लिपिमा समेत रहेको छ”, घिमिरेले भन्नुभयो ।

मध्यकालीन नेपालको इतिहासमा जुम्ला राज्यको विस्तारको क्रममा एक समय इस्मा राज्यको सिमाना साविकको ग्वालीचौर गाविसको दारेगौँडासम्म आइपुगेको थियो । तर उक्त राज्य विस्तारको योजना गलकोट र पर्वत राज्यको सहयोगमा इस्मा राज्यले जुम्लाको विस्तार अभियानलाई रोकेको हुनाले पौँदी मौजा राजनीतिक महत्त्वको रहेकोे र यसै खुसीयालीमा न्वागी पर्व मनाउन थालिएको घिमिरेले सुनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर