काठमाडौ, २४ कात्तिक । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनी सहर खेअरसनबाट रुसी सेना फिर्ता हुने निर्णयले उनीहरूको केही वास्तविक समस्याहरू सङ्केत गरेको बताउनुभएको छ ।

बाइडनले केही समयदेखि आफूले यस्तो कदम अपेक्षा गरेको र यसले दुवै पक्षलाई आगामी हिउँदमा आफ्नो स्थिति पुनर्मुल्याङ्कनू गर्न मद्दत पुर्‍याउने बताउनुभयो ।

खेअरसन रुसी सेनाले कब्जा गरेको एक मात्र प्रमुख युक्रेनी सहर हो।

तर बुधवार युक्रेनमा रहेका रुसी कमान्डरले अब उक्त सहरलाई आपूर्ति गर्न सम्भव नभएको बताएका थिए।

केही साताअघि कमान्ड पाएका जनरल सर्गेई सुरोभिकिनले रुसी सरकारी टेलिभिजनमार्फत् सेनाका शीर्ष अधिकारीसँगै सेना फिर्तीको घोषणा गरेका थिए। उनले रुसी सेनाहरू निप्रो नदीको पश्चिमी किनारबाट पूर्ण रूपमा फिर्ता हुने पुष्टि गरेका हुन्।

युक्रेनी प्रत्याक्रमणको सामना गरिरहेको समयमा यो रुसी सैन्य लक्ष्यका निम्ति ठूलो धक्का हो।

बाइडनले संसदीय चुनाव पछि ह्वाइट हाउसबाट आफ्नो प्रतिक्रिया जनाउनुभएको हो । चुनावबाट रिपब्लिकन दलले उनको डेमोक्र्याटिक दलबाट तल्लो सदन प्रतिनिधिसभाको नियन्त्रण खोस्ने प्रक्षेपण गरिएको छ।

यसअघि बाइडनका राजनीतिक प्रतिद्वन्द्वीहरूले युक्रेनलाई अमेरिकी सैन्य र मानवीय सहायताको समीक्षा गर्ने प्रतिबद्धता जनाएका थिए। बाइडनले मस्कोले सैन्य फिर्तीको घोषणा गर्न चुनाव सकिँदासम्म पर्खिनुलाई रोचक घटनाको रूपमा लिनुभयो ।

तर उहाँले युक्रेनमा रुसी आक्रमणको सामना गर्ने द्विपक्षीय पद्धति भने जारी रहने आशा व्यक्त गर्नुभयो।

निप्रो आसपासबाट सेना फिर्ता गर्ने रुसको निर्णयबारे युक्रेनले सावधानीपूर्वक प्रतिक्रिया जनाएको थियो।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त घोषणापछि किएभ धेरै सावधानीपूर्वक अघि बढिरहेको बताउनुभयो ।

दुस्मनले हामीलाई उपहार दिँदैनन्, सद्भावनाको सङ्केत गर्दैनन्, हामीले सबै जित्छौँ, उहाँले युक्रेनीहरूलाई सम्बोधन गर्दै भन्नुभयो ।

रुसको घोषणा पछि खेअरसन भित्रका नागरिकहरूले रुसी सैन्य बलका चेचेन सेनाहरू सहर, क्याफेहरू र सडकहरूमा घुमिरहेको बताए।

र सहरको परिधिमा रहेका युक्रेनी सिपाहीहरूले शत्रुले आफूहरूलाई फसाउन खोजिरहेको हुन सक्ने भएकाले आफूहरू सतर्क रहेर अगाडि बढिरहेको बताएका थिए।

सैन्य फिर्तीको घोषणा गर्ने बेला राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी हुनुहुन्नथ्यो । तर पहिले रुसको युद्ध प्रयासको आलोचना गर्ने उहाँका दुई प्रमुख सहयोगीहरूले भने यस कदमको स्वागत गरेका छन्।
वाग्नर मर्सिनरी समूहका संस्थापक र लामो समयदेखि पुटिनका सहयोगी रहेका एभगेनी प्रिगोजनले यो निर्णय विजयी कदम नभए पनि लामो समय चिन्तामा रहन वा भ्रममा रहन नभई निष्कर्ष निकाल्न र गल्तीहरू सच्याउन महत्त्वपूर्ण भएको बताए।

पुटिनले सन् २००७ मा स्वायत्त गणतन्त्रको शासन गर्न रोजेका चेचेन नेता रमजान कादिरोभले जनरल सुरोभिकिनले आलोचनाबाट नडराएर वास्तविक सैन्य जनरलको रूपमा काम गरेको बताए।

पछिल्ला साताहरूमा युक्रेन अगाडि बढ्नमा केही सुस्त भएको थियो। यद्यपि, युक्रेनी क्षेप्यास्त्र आक्रमणका कारण केही पुलहरू ध्वस्त भएका कारण निप्रोमा रुसको आपूर्ति लाइनहरू प्रभावित बन्यो।

त्यहाँबाट फिर्ता हुनुअघि रुसले हजारौँ नागरिकहरूलाई डुङ्गाबाट सहर बाहिर सारेको थियो जसलाई युक्रेनले निर्वासनको रूपमा व्याख्या गरेको थियो।बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर