काठमाण्डौं,२० कार्तिक । पाकिस्तान आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । आज आइतबार भएको खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान सेमिफाइनलमा पुगेको हो ।
पाकास्तानले समूह चरणका सुरुका दुइ खेल लगातार हारेको थियो । पछिल्ला तीन खेल सबै जित्दा पनि उसलाई सेमिफाइनलको यात्रा आफ्नो हातमा थिएन । जब आज बिहानको पहिलो खेलमा नेदरल्याण्डस्सित साउथ अफ्रिका पराजित भयो तब पाकिस्तान र बंगलादेशको लागि सेमिफाइनलको ढोका खुलेको हो ।
सेमिफाइनलमा पुग्नेको लागि जित्नै पर्ने आजको खेलमा बंगलादेशले आशा अनुरुप खेल प्रदर्शन गर्न सकेन । पहिले ब्याटिङ गरेको बंगलादेशले पाकिस्तानसमक्ष जम्मा १२८ रनको लक्ष्य दिएको थियो । पाकिस्तानले सो लक्ष्य ११ बल अगावै ५ विकेटको क्षतिमा सहजै भेट्टायो ।
पाकिस्तानका कप्तान बाबर आजम र मोहम्मद रिजवानले ५७ रनको साझेदारी गरेका थिए । बाबर २५ र रिजवन ३२ रन बनाएर आउट भए । मोहम्मद ह्यारिसले १८ बलमा २ छक्का र १ चौकासहित ३१ रन बनाएर आउट भए । सान मसुदले अविजित २४ रन जोडे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेट गुमाएर १२७ रन बनाएको थियो । बंगलादेशका लागि ओपनर नाजमुल होसेन सान्तोले ४८ बलमा ७ चौका प्रहार गर्दै सर्वाधिक ५४ रन बनाए । अफिफ होसेनले अविजित २४ रन जोडे । सौम्य सरकारले २० रन बनाएका थिए ।
यो प्रतियोगितामा यसअघि भारत, न्युजिल्याण्ड र इंग्ल्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् । यद्यपि भारतले एक खेल खेल्नै बाँकी छ । भारत र जिम्बाबेबीचको खेल आज भैरहेछ ।
भारतले यो खेल जितेमा उ समूह विजेता बन्नेछ ।
समूह ए बाट न्युजिल्याण्ड विजेता र इंग्ल्याण्ड उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका छन् ।
समूह बीबाट भने जिम्वाबेलाई आजको खेलमा हराए मात्र भारत समूह विजेता बन्नेछ । भारत पराजित भएको अवस्थामा पाकिस्तान समूह विजेता हुनेछ ।
सेमिफाइनलमा समूह ए को विजेता र बी को उपविजेता तथा समूह बी को विजेता र एको उपविजेताबीच प्रतिस्पर्धा हुनेछ । खेलहरू अष्ट्रेलियाका विभिन्न शहरहरूमा भैरहेको छ ।
