सोल, १३ कात्तिक । दक्षिण कोरियाको राजधानी सोलमा हेलोइन मनाउन जम्मा भएको भीडमा किचिएर १५० जनाभन्दा धेरैको मृत्यु भएको छ।

घटनामा ८२ जना घाइते भएको त्यहाँको आपतकालिन सेवाले जनाएको छ।

शनिवार साँझ भएको घटनामा मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

हेलोइन मनाउनका लागि त्यहाँको चर्चित रात्रिकालीन गतिविधि हुने क्षेत्रमा मानिसहरूको ठूलो भीड जम्मा भएको थियो।

घटनाका अधिकांश पीडितहरू २० वर्ष आसपासका किशोर र युवाहरू रहेको बताइएको छ।

साँघुरो गल्लीमा अत्यधिक भीड जम्मा भएर ठेलमठेल भएपछि भाग दौड मच्चिँदा मानिसहरूलाई भीडले किचेको विवरणहरू आएका छन्।

सोलस्थित नेपाली दूतावासले घटनामा कोही नेपालीहरू परेकोबारे हालसम्म कुनै पनि विवरण नआएको दक्षिण कोरियाका लागि नेपाली राजदूत ज्योति भण्डारी प्याकुरेलले बीबीसीलाई बताउनुभयो ।

कोरियाली आपतकालिन सेवाले भीडमा किचिएर मारिनेमा १९ जना विदेशी नागरिक रहेको जनाएको छ।

नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाले ट्विट गर्दै घटनामा गहिरो दुखः व्यक्त गर्दै दक्षिण कोरियाली सरकार र जनता तथा शोकाकुल परिवारमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।

सोलको महानगर सरकारले घटनापछि अझै ३५५ जना हराइरहेको उजुरी प्राप्त भएको जनाएको छ।

दक्षिण कोरियामा यो सन् २०१४ मा फेरी दुर्घटनामा ३०० जनाको मृत्यु भयायताकै सबैभन्दा दुखद घटना हो।

राजधानी सोलसँगै रहेको रात्रिकालीन गतिविधिका लागि प्रख्यात इतेवोनमा दुर्घटना भएको थियो।

घटना भएको समयमा उक्त स्थानमा हेलोइन मनाउन १००,००० मानिसहरू भेला भएको आनुमान गरिएको छ।

हरेक सप्ताहान्तमा यो स्थानमा भीड हुने गरे पनि कोभिड महामारीपछि पहिलो पटक आयोजना भएको खुला हेलोइन मनाउन शनिवार अत्यधिक मानिसहरू जम्मा भएका थिए।

दक्षिण कोरियाका राष्ट्रपति युन शुक योलले घटनाको अनुसन्धान गर्न निर्देशन दिनुभएको छ । उहाँले घाइतेहरूको उपचारका लागि कार्यदल बनाउन पनि भन्नुभएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले पनि एक सन्देश मार्फत घटनामा दुख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्नुभएको छ । बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर