कास्की, २९ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ह्याण्डबलमा पुरुषतर्फ आयोजक गण्डकी प्रदेश र महिलातर्फ विभागीय नेपाली सेनाले स्वर्ण पदक जितेका छन् ।
गण्डकी प्रदेशको राजधानी सहर पोखरामा यही असोज २४ गतेदेखि जारी ह्याण्डबलको प्रतिस्पर्धाको आज सम्पन्न फाइनलमा गण्डकीले स्वर्ण जितेको हो । जारी नवौँ राष्ट्रिय खेलकुदमा गण्डकीको यो पहिलो स्वर्ण हो । यसअघि आठौँ राष्ट्रिय खेलकुदमा पनि गण्डकीले ह्याण्डबलमा स्वर्ण जितेको थियो ।
पुरुषतर्फको फाइनल खेलमा गण्डकीले विभागीय आर्मीमाथि ४३–३६ गोल अन्तरको निकाल्न सफल भयो । प्रतियोगितामा उपविजेता बनेको सेनाले रजत पदक पायो । फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्नुभएका पुरुषतर्फ गण्डकीका गोलरक्षक विशाल नेपाली र महिलातर्फ सेनाका देवु सापकोटालाई गण्डकी प्रदेशका निवर्तमान सदस्य सचिव तेज गुरुङ र भारतीय ओलम्पिक कमिटीका कोषाध्यक्ष आनन्देश्वर पाण्डेले जनही रु १०÷१० हजार प्रदान गर्नुभयो ।
प्रतियोगितामा विभागीय सशस्त्र प्रहरीको एपिएफले कास्यपदक जितेको छ । एपिएफले तृतीय स्थानका लागि भएको खेलमा लुम्बिनी प्रदेशलाई पराजित गरेको हो ।
यसैगरी महिला ह्याण्डबलमा विभागीय सेनाले स्वर्ण पदक जितेको छ । सेनाले अर्को विभागीय टोली एपिएफलाई १७–१६ गोलले हराउँदै स्वर्ण जित्न सफल भयो । प्रतियोगितामा एपिएफले रजतपदक जित्दा गण्डकी प्रदेशले कास्यपदक जितेको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गण्डकीका आठ जिल्लामा ३६ खेल सञ्चालन भइरहेका छन् ।
साइक्लिङमा सेनालाई दुई स्वर्ण पदक
पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला तथा पुरुष साइक्लिङ ‘डाउनहिल विधा’को दुवै स्वर्ण नेपाली सेनाले जितेको छ ।
पोखराको रानीवनमा आज आयोजित प्रतिस्पर्धामा महिलातर्फ सेनाका निष्मा श्रेष्ठले दुई मिनेट २३ दशमलव ५८ सेकेण्डमा निर्धारित दूरी पार गरी स्वर्ण जित्नुभयो । साइक्लिङको डाउनहिलमा सेनाकै उषा खनाल दुई मिनेट ३७ दशमलव ४५ सेकेण्डमा निर्धारित दूरी पार गरी रजत पदक प्राप्त गर्दा आयोजक गण्डकी प्रदेशका जमुना थापाले दुई मिनेट ४० दशमलव शुन्य नौ सेकेण्डमा पूरा गर्दै कास्यपदक जित्नुभयो ।
यसैगरी पुरुषतर्फको डाउनहिल प्रतिस्पर्धामा सेनाका राजेश मगरले एक मिनेट ४९ दशमलव १० सेकेण्डमा पूरा गर्दै स्वर्ण जित्नुभयो । बागमती प्रदेशका निरभ श्रेष्ठले एक मिनेट ५२ दशमलव १० सेकेण्डमा पूरा गर्दै रजत पदक र सशस्त्र प्रहरी बल एपिएफका प्रतिक थापामगरले एक मिनेट ५५ दशमलव ६९ सेकेण्डमा निर्धारित दूरी पार गरी कास्यपदक जित्नुभएको हो ।
नवौँ राष्ट्रिय खेलकुदको प्रतियोगिताको बृहत् उद्घाटनको भोलिपल्ट आजदेखि पोखरामा थप विभिन्न १२ खेल भइरहेका छन् । यही असोज २३ गतेदेखि केही खेल सुरु भएकामा अधिकांश खेल उद्घाटनपछि भएका हुन् । पोखरासहित प्रदेशका अन्य जिल्लामा पनि केही खेल यसअघि नै सुरु भएका छन् ।
