काठमाडौं– नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा ठूलो सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) मा आवेदन संख्याले पनि कीर्तिमान कायम गरेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको सेयरका लागि आवेदनको कीर्तिमान बनेको हो । उक्त बैंकको साधारण सेयरका लागि १५ लाखभन्दा बढी लगानीकर्ताले आवेदन दिएको निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।

बिक्री प्रबन्धकका अनुसार यो आइपिओमा १५ लाख २९ हजार ४६० जनाले आवेदन दिएका छन् । ती आवेदनमार्फत १८ करोड १२ लाख ८६ हजार ७२० कित्ता सेयर माग भएको छ ।

आवेदन संख्याको हिसाबले कीर्तिमान कायम भए पनि बिक्रीका लागि निष्कासन गरिएको सेयर संख्या र माग गरिएको सेयर संख्याको अनुपात भने १.३९ गुणा मात्रै बढी हो । यसअघि बिक्रीका लागि निष्कासन गरिएका सेयरको तुलनामा कैयौें गुणा बढी माग हुने गथ्र्यो । निष्कासन गरेको सेयर संख्या ठूलो भएका कारण निष्कासित संख्या र माग संख्याबीच ठूलो अन्तर हुन नपाएको हो ।

माग गरिएको संख्या र निष्कासित सेयर संख्याबीच ठूलो अन्तर नभएकै कारण यसमा आवेदन दिने सबैले सेयर पाउने निश्चित छ ।

यसअघि निष्कासित चन्द्रागिरि हिल्सको सेयरका १२ लाख ५१ हजार ९३८ आवेदन परेको छ । ती आवेदनमार्फत २ करोड ४४ लाख २९ हजार ८४० कित्ता सेयर माग भएको छ । यो कम्पनीले बिक्रीका लागि निष्कासन गरेको १३ लाख ९६ हजार कित्ताको १७.४९ गुणा हो ।

इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणका लगानीकर्ताका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता निष्कासन गरेको हो । माघ २ गते खुलेको आइपिओ माघ ६ गते बन्द भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर