काठमाण्डौं, २१ असोज । निरन्तर वर्षाका कारण पश्चिमको भेरी नदीमा जलस्तर बढेर खतराको बिन्दुभन्दा माथि पुगेको छ । पछिल्लो ६ घन्टामा भेरी नदीमा बाढीको बहावले यसरी खतराको विन्दु पार गरेको हो।
बर्षा र बाढीको यो अवस्थालाई मध्यनजर गर्दै तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको छ।
जाजरकोटको रिम्नादेखि भेरी र कर्णाली नदी दोभान जामुसम्मका तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अपिल गरेको छ। भेरी नदीमा ४.५ मिटर बाढीको सतह पुगेपछि चेतावनी दिने गरिन्छ। खतराको विन्दु भनेको पाँच मिटर हो। अहिले भेरी नदीको बाढीको जलस्तर खतराको तह पार गर्दै ५.२३ मिटर पुगेको छ।
अहिले वर्षा भइरहेकाले आगामी ६ घन्टासम्म महाशाखाले सतर्कता अपनाउन सूचना जारी गरेको छ। भेरी किनारामा पर्ने सुर्खेतका रानीघाट, तल्लो डोप्का, तरंगा, साँझघाट, चेपाङ, बच्छी, चाम्री, कुका, बुटी, जामु, तिखाकुना, घाटगाउँ लगायत बस्ती जोखिममा छन्।
बहाव बढ्दो क्रममा रहेकाले सुरक्षित स्थानमा जान आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।वीरेन्द्रनगरको तल्लो क्षेत्र अलायचौर र घोग्रेनी बीच भागमा रहेको बडिगाड खोलामा आएको भेलले डुबानमा पारेको छ ।
स्थानीय प्रशासनले बिहीबार नै सूचना जारी गर्दै दसैं अवधिभर सामान्यभन्दा बढी पानी पर्ने र यसबाट भूक्षय लगायत घटना हुन सक्ने पूर्वानुमान रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो।
भेरी नदीमा बाढीको जलस्तर बढेपछि भेरी–बबई डाइभर्सन निर्माणस्थल चिप्लेमा निर्माण सामग्री सुरक्षित स्थानमा सार्न थालिएको रक्तकाली गण बाँगेशीमल सुर्खेतका प्रमुख विमल डाँगीले जानकारी दिए। नदी किनारामा रहेका निर्माण सामग्री सुरक्षित स्थानतर्फ लैजान थालिएको छ।
त्यस्तै सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम देखिएको छ।
कैलालीका खुटिया, कान्द्रा मोहना, सुहेली चौधर लगायत नदी तथा खोलामा बाढी आउने र होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।
विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयले गएरातिदेखि भारी वर्षा भइरहेको जनाएको छ।
विभागको कञ्चनपुर शान्तिपुर बेलौरीस्थित वर्षा मापन केन्द्रमा गएको १२ घन्टामा १२५ मिमी, छ घन्टामा ८३ दशमलव ८ र तीन घन्टामा ६२ दशमलव २ मिमी वर्षाको मापन भएको छ।
कार्यालयका प्रमुख सञ्जय साहले बताउनुभयो, ‘आजबाट वर्षा गराउने सिस्टम केही कमजोर हुँदै गएको देखाए पनि मनसुन निष्क्रिय हुन भने अझै समय लाग्न सक्नेछ।’
यो महिनाको अन्तिमसम्म वर्षा हुने पूर्वानुमान गरिएकाले नदीमा आउने बाढी र तटीय क्षेत्रमा हुन सक्ने डुबानको जोखिमबाट सचेत रहन र पाकेको धानबाली अझै एक साता नकाट्न कार्यालयले आग्रह गरेको छ।
