नेपालगंज, २१ असोज । चार दिनदेखिको निरन्तर वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँके जिल्लाको  डुडुवा गाउँपालिका–१,  चौफेरी गाउँका ७५ घरपरिवार विस्थापित भएका छन् । उनीहरूलाई नजिकका आश्रयस्थलमा स्थान्तरण गरिएको छ ।

राप्ती नदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका फत्तेपुर, गङ्गापुर, होलिया, बेतहनी, कम्दी गाउँलगायत स्थानमा बाढी आउँछ । नेपालगञ्ज, कोहलपुर, खजुरा बजार क्षेत्रका अधिकांश स्थानमा पानी जमेको छ । अहिले पनि वर्षा भइरहेकाले सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ  छ ।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले दिनुभएको जानकारी अनुसार, चौफेरी गाउँका दर्जनौँ घरमा पूर्ण क्षति भएको प्रारम्भिक जानकारी छ, अझै पनि वर्षा रोकिएको छैन, बाढी घटेपछि मात्रै क्षतिको विवरण सङ्कलन गर्न सकिन्छ । गाउँ पूरै डुबानमा परेर घरभित्रसमेत पानी पसेको छ । अहिले त्यहाँ रेडक्रसकर्मी, प्रहरीसहितको टोली उद्धार कार्यमा खटिएका छन् ।

स्थानीयवासिन्दा गणेश गुप्ताले बताए  बताए अनुसार, बाँकेका लल्लो तटीय क्षेत्रका करिब तीन सय घर डुबानमा परेका छन् भने दर्जनौँ घरमा क्षति पुगेको छ । वर्षाले राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका– १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका तीन सय घर डुबानमा परेका छन् । घरभित्र राखिएको अन्नपात लत्ताकपडा सबै भिजेर क्षति भएको  छ ।

वर्षाका कारण राप्ती नदीले खतराको तह पार गरेको छ । लगातारको अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह पाँच दशमलव ९५ मिटर पार गरेको छ ।

राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ । आज बिहान ६ः३० बजे कुसुममा नदीको सतह पाँच दशमलव ९५ मिटर पुगेको स्थितर रहेको बाँकेस्थित जलमापन केन्द्रले जनाएको छ ।

अहिले पनि निरन्तर वर्षा भइरहेकाले खतराको तह बढ्नसक्ने हुँदा आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर