काठमाडौँ, २० असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।
चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेब गौतमले जानकारी दिनुभयो ।
जीतपुर–सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा मृत्यु भएका १६ जनामध्ये १५ जनाको सनाखत भएको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जना, चुरेहिल अस्पतालमा दुई जना, सहकारी अस्पतालमा एक जना र भरतपुर लैजाने क्रममा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बारा–कलैया उपमहानगरपालिकाका लीलाराज चौरसिया, चितवन खैरहनी नगरपालिका–५ की नन्दकुमारी पुडासैनी, चितवन कालिका नगरपालिकाका १५ वर्षीय बालक सफल कँडेल, चितवन खैरहनी–५ का मनोरथ पुडासैनी, बाराका ५५ वर्षीय राम आश्रय राय, पर्सा– १६ की मुन्ननी देवि चौरसिया, हेटौँडा–७ की करिब ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बारा–कलैया–१० का नगरिन खातुन, बारा–अमलेखगञ्जका सुरेश विक, बारा–कलैया का इन्ताज अन्सारी, ओखलढुङ्गाका करिब ४५ वर्षीय लालबहादुर बोगटी गोर्खाका अम्बिका कँडेल र पर्सा–१६ का सकेमप्रसाद चौरसिया रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बसमा ५२ जना सवार रहेको खुलेको ट्राफिक प्रहरी कार्यालय मवानपुरका प्रहरी निरीक्षक मुनेन्द्र थापाले जनाउनुभयो । घाइतेमध्ये २१ जनालाई उपचारका लागि चितवन, आठ जनालाई वीरगञ्ज र पाँच जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । चार जना भारतीय नागरिकलाई आफन्तले भारतमा नै लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
–––
