महोत्तरी, १९ असोज । महोत्तरीको मटिहानीमा आज विजया दशमीका दिन रावण वध उत्सव सम्पन्न गरिएको छ । वर्र्षौँदेखिको स्थानीय परम्पराअनुसार विजया दशमीका दिन श्रीरामले असुर रावणको सम्हार गर्नुभएको प्रतिकात्मक उत्सव मटिहानीमा सम्पन्न भएको हो ।

दशानन् (दश टाउको भएको) अजङ्गको रावणको प्रतिमालाई श्रीरामले चलाउनुभएको तीरले शिर छेदन गरिएको दृश्य देखाएर उत्सव मनाइएको हो । मिथिलामा दसैँ पर्वमा देवी उपाशना मुख्य पक्ष भए पनि मटिहानीमा भने रावण वध उत्सवको परम्परा रहँदै आएको छ । विजयाको दिन सन्ध्याकालअघि श्रीरामले रावण वध गर्नुभएको विश्वासमा यहाँ त्यसैबेला पारेर अजङ्गको रावण आकृतिलाई तीरले ढालिन्छ ।

मटिहानीमा दसैँ पर्व रावण (दशानन) वधसँगै जोडिएर आएको विश्वास गरिन्छ । मर्यादा पुरुषोत्तम श्रीरामले दश इन्द्रीयका दशानन (रावण)माथि विजय प्राप्त गर्नुभएको हुँदा दसैँ (दश इन्द्रीयको दासत्वलाई हराउने) पर्वको नाउँले प्रसिद्धि पाएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस)का साहित्य विषयका सहप्राध्यापक ध्रुव राय बताउनुहुन्छ । बडादसैँ नाउँ पनि ‘वर्जय दश इन्द्रीय’ बाट बनेको सहप्राध्यापक रायको भनाइ छ ।

रावण वध उत्सव आफ्नो ठाउँको संस्कृति र परम्पराको अभिन्न अङ्ग नै बनेको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलको धारणा छ । “हामी देवी उपाशनामा पनि रमाउँछाँै, यद्यपि रावण वध उत्सव हाम्रा लागि दसैँको खास परम्परा हो”, उहाँले भन्नुभयो । मटिहानीमा ‘वध’ गरेको देखाइने रावणको अजङ्गको प्रतिमा भोलिपल्ट उल्लासमय वातावरणमा बाजागाजाका साथ जलाशयमा पु¥याइ गहिरो पानीमा भसाउने (सेलाउने, विसर्जन गर्ने) परम्परा छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर