काठमाण्डौं, १४ असोज । भूतपूर्वराजा ज्ञानेन्द्र बीर बिक्रम शाहले विद्यमान संविधान र व्यवस्थाको कारण मुलक नै दाउमा परेको बताउनु भएको छ ।
बडादशैं २०७९ को उपलक्ष्यमा आज देशवासीको नाममा शुभकामना दिँदै उहाँले त्यस्तो धारणा सार्वजनिक गर्नुभएको हो ।
भिडियो सन्देशमा उहाँले स्पष्ट पार्नुभएको छ : ‘विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ। पहिले पनि हामीले भनिसकेका छौं- हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन। राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यता र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकीय राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न नवदुर्गा भवानीले प्रेरणा प्रदान गरून् ।’
सन्देशमा नेपाली जनताले अभिभावकीय भूमिका खोजिरहेको दाबीसमेत गरिएको छ ।
उहाँका अनुसार, ‘केही संरचना बदलेर, केही नामन्तर गरेर सुन्दर नौलो नेपाल भइहाल्दो रहेनछ। त्यसैले बलियो मियो आवद्ध भएर बलियो र दरिलो नेपाल बनाउन दिव्यचेतना आउनु आवश्यक छ ।’
मुलुकमा व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई थप भ्रष्ट बनाएको र सर्वसाधारणका दैनिक जीवन सकसपूर्ण बन्दै गएको शाहको भनाई छ ।
राजनीतिलाई नेताहरूले आफ्नो सुविधाको साधन बनाएकोले नै सबैतिर वेथिति बढेको उहाँको निचोड छ । यसबारे सन्देशमा यसरी प्रश्न गरिएको छ :‘पदलोभ, सत्तास्वार्थ र भागबन्डा गरेर आफ्नै सुविधा भोगका लागि राजनीति केन्द्रित हुँदै गएपछि देशको स्थिति र जनताको हालत के हुन्छ ? ’
शाहका अनुसार,‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका सबै अंगभित्र उत्पन्न विवाद विग्रह र विकृति आजको स्थितिले सर्वत्र प्रश्न उठेको छ र देशका प्रति बफादारी र जनताकाप्रति उत्तरदायी भएर काम गर्ने विधि, व्यवस्था, संगठन र प्रतिनिधित्वको सही पात्र देशले खोजिरहेको छ ।’
