काठमाण्डौं, १२ असोज । सल्यान जिल्लाको कपुरकोटमा गए राति भएको एक जीप दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ । एक जना घाइतेको दाङको प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रप्त जानकारी अनुसार, दुर्घटनामा परेको रा १ ज ५६३ नम्बरको जिप बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका–६ जलबाङ जाँदै थियो । कपुरकोटकै मुलपानीमा दुर्घटना भएको हो । जीप सडकदेखि करिब दुई सय मिटर तल खसेको थियो ।
त्यसमा नौ जना यात्रु सवार थिए । उनीहरू बाँके ढकेरीबाट बिहे भोज खाएर कपुरकोट फर्कंदै गरेको बताइएको छ ।
प्रहरीका अनुसार, घाइते र मृतक सबैको परिचय खुलेको छ । दुर्घटनामा मृत्यु भएका सात जना कपुरकोट गाउँपालिका–६ जलबाङका र एक जना रिमका रहेका छन् । मृत्यु हुनेमा सात जना पुरुष र एक जना महिला रहेका छन् ।
सल्यान प्रहरीका अनुसार, दुर्घटनामा परी मृत्यु हुनेमा कपुरकोट गाउँपालिका–६ जलबाङका २१ वर्षीय चालक जितबहादुर बोहरा, ३७ वर्षीय धर्म ओली, ४० वर्षीय टोपबहादुर ओली, उनका ११ वर्षीय छोरा बसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षीया कुमारी ओली, रिमका ३५ वर्षीय ललित ओली रहेका छन् ।
घाइते भएका ३५ वर्षीय तीलक ओली कपुरकोट गाउँपालिका–६ का हुन् ।
