काठमाडौँ, ११ असोज । विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजाबेथ केनेडी ट्रुडो भोली नेपाल भ्रमणमा आउनुहुने भएको छ ।
अमेरिकी विदेश मन्त्रालयले जनाए अनुसार उहाँले नेपालसँगै यूएई, उज्बेकिस्तान र किर्गिस्तानको पनि भ्रमण गर्नुहुने भएको छ ।
उहाँको १२ दिने विदेश भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध र रुस र चीनबाट फैलाइएका गलत सूचनाको प्रतिवाद गर्ने विषय प्राथमिकतामा परेको विदेश मन्त्रालयले जनाएको छ ।
त्यसैगरी अफगानिस्तानमा अमेरिकी सहयोग, सामाजिक समता, प्रेस स्वतन्त्रता र जलवायु परिवर्तनका मुद्दामा पनि द्विपक्षीय कुराकानी हुने अमेरिकी विदेश मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । ट्रुडोले भ्रमणका क्रममा सरकारी अधिकारी, मिडिया प्रतिनिधिलगायतलाई भेट्ने कार्यक्रम रहेको छ ।
नेपालमा उहाँले अल्पसंख्यक समुदायका अभियन्ता, मिडिया प्रतिनिधिलगायतसँग अन्तरक्रिया गर्नुका साथै काठमाडौंमा अमेरिकी राजदूत सांस्कृतिक संरक्षण कोषअन्तर्गतका कार्यक्रम सञ्चालन भएका क्षेत्रको भ्रमणसमेत गर्ने उहाँको कार्यक्रम रहेको छ ।
