नवलपुुर, ८ असोज । नवलपुर र चितवनका थारू समुदायको यमोसा पर्व (पितृ औँसी) आजदेखि सुरु भएको छ । नवलपुर र चितवनका थारू समुदायले मात्रै मनाउने यस पर्व भाद्र कृष्ण चतुर्दशी र औँसी गरी तीन दिन मनाउने प्रचलन छ ।
यमोसा पर्वलाई यहाँका थारू समुदायले दोस्रो ठूलो पर्वको रुपमा मनाउँदै आएका छन् । दिवङ्गत भएका आफन्तहरूको सम्झनामा मनाइने यो पर्वको छुट्टै महत्व रहेको कावासोती नगरपालिकाका पूर्व उपप्रमुख प्रेमशङ्कर मर्दनिया थारूले बताउनुभयो । यमोसा पर्व (पितृ औँसीका दिन)मा थारू समुदायका सम्पूर्ण व्यक्तिहरुले पितृलाई तर्पण गर्ने प्रचलन रहेको थारूको भनाइ छ ।
यमोसा पर्वको पहिलो दिन आज शनिबार थारू समुदायमा व्यक्तिगत वा सामुहिकरुपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा घौका, जाल, डेली, कोइनी, ढडिया आदि सरसामान लगेर माछा मार्ने गरिन्छ । अघिल्लो दिन माछा मारिसकेपछि यमोसा पर्वको मुख्य दिन भोलि आइतबार (पितृ औँसीमा) बिहानै पुरुषहरुल दाभी (सिरु) काटेर आफ्नो घरमा लिएर आउँछन् ।
“पितृ औँसीका दिन बिहानै काटेर ल्याएको सिरुलाई केलाएर करिब एक हात लामो कुचो बनाइ धोइपखाली गरेर घर अगाडि गाईको गोबरले पोतेको ठाउँमा पिर्का वा कुर्सीमा सो सिरुको मुठा राखी पितृ स्थापना गरिन्छ”, थारूले भन्नुभयो, “त्यसरी स्थापना गरिएको पितृलाई थारू भाषामा पहुनी बेठोइ भनिन्छ ।”
पहुनीलाई विभिन्न थरिका फूलहरुले सिङ्गारेर घामबाट जोगाउन छाता ओडाउने प्रचलन रहेको थारूको भनाइ छ । “पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, सुर्ती, चुरोट, रक्सी र पानी राखेर यो पर्व मनाइन्छ” थारूले भन्नुभयो, “पितृ औँसीको दिन आफ्ना दिवङ्गत पुर्खाहरुको स्मरणपछि अशोज शुक्ल प्रतिपदाको दिन बिहानै यो पर्वको समापन गर्ने गरिन्छ ।” यमोसा पर्वको मुख्य दिन बिहानै साना बच्चा बच्चीदेखि लिएर बूढाबूढीसम्मका सबैले आफ्नो परिवारमा मृत्यु भएका हजुरबुबा, हजुरआमा, बुबा, आमालाई सम्झेर पहुनीमा कुश पानी चढाई पानीले नुहाइदिने गरिन्छ ।
“पहुनीलाई नुहाइसकेपछि सफा लुगा लगाएर पाहुनीको अगाडि बसेर घरका सम्पूर्ण परिवार मिलेर अलिअलि पानी अनि रक्सीको थोपा चढाउने गरिन्छ”, थारू समुदायका पुरोहित बेलबहादुर गुरौले भन्नुभयो, “यसरी पितृलाई श्रद्धापूर्व पूजाआज गरेपछि मात्रै आफूहरुले भात अनि अरु खानेकुरा खाने गर्दछन् ।” पितृको पूजा गरेपछि आफ्नो छोरीज्वाइँ अनि अन्य पाहुनालाई बोलाएर आदर सम्मानका साथ चौरासी व्यञ्जन खुवाउने गरिन्छ । यसरी पाहुनालाई खाना खुवाउनुलाई थारू समुदायले पितरी बसालेको भन्ने गुरौले बताउनुभयो ।
घरमा आएका पाहुनालाई खाना खुवाएर मात्रै घरका अन्य सदस्यहरु खाना खान बस्ने प्रचलन रहेको गुरौको भनाइ छ । “खाना खाएपछि केटीहरुले पाहुनालाई कपालमा तेल लगाएर काइँयोले कपाल कोरिदिने गर्दछन्”, गुरौले भन्नुभयो, “त्यसपछि उल्टो नाङ्लोमा पानी हालेर पाहुनाहरुलाई पानी छर्किने प्रचलन रहेको छ, यसलाई पितपितराईन लखेटेको भनिन्छ ।” यमोसाको मुख्य दिन पितृऔँसीमा थारू समुदायको घरमा जो व्यक्ति आए पनि त्यो दिनमा पाहुना आएको भन्ने गरिन्छ ।
आफ्नो घरमा आएका पाहुनालाई केहि खानेकुरा जस्तै रक्सी, जाँड, मासु भात, खुवाएर आदर सम्मानका साथ मात्रै बिदा गर्ने परम्परा रहँदै आएको गुरौको भनाइ छ । यमोसाको दिनमा पाहुनालाई पितृगणको रुपमा हेर्ने चलन रहेको उहाँले बताउनुभयो । पितृ औँसीलाई उत्सवको रुपमा मनाउँदै गाउँका सम्पूर्ण मानिस एकैठाउँमा भेला भई पिङ खेली रमाइलो गर्ने गुरौले बताउनुभयो ।
“पहिले पहिले एउटै ठूलो रुखमा पाँच÷छ ओटा पिङ हालेर खल्ने गरिन्थ्यो”, गुरौले भन्नुभयो, “पितृ औँसीका दिन केटाहरु साँझ पख गाउँको चोकमा गई सिरु घाँसले बाटेको डोरी म्वाढ्हा गाढ्छन् अनि बलिया मानिसले त्यसलाई उखाल्न कोसिस गर्ने गर्दछन् ।” साँझपख केटाकेटीहरु समूहमा मिलेर आफ्नो गाउँका सबैका घरमा गई यमोसा खाने चलन रहेको गुरौले बताउनुभयो । प्रत्येकको घरमा धेरै किसिमको परम्परागत गीतहरु गाएर यमोसा खाने गर्दछन् ।
थारू समुदायले यमोसाका दिनमा गाउने परम्परागत गीत, म्वाढ्हा र पिङहरु, पितरी र पितपित्रायनहरु, पाहुना पहुनी लोपोन्मुख अवस्थामा पुगेकामा गुरौले चिन्ता व्यक्त गर्नुभयो । पछिल्लो समयमा परम्परागत गीतहरु हराउँदै गएको हुनाले आगामी दिनमा यसको संरक्षण गर्न आवश्यक देखिएको उहाँको भनाइ छ ।
–––
