दमौली, १७ भदौ। नेपाली कांग्रेस तनहुँले संविधानसभा सदस्य झुलबहादुर आलेसहितका नेता तथा कार्यकर्ताको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । गत स्थानीय तह निर्वाचनमा कांग्रेसका बागी उम्मेदवारलाई सहयोग गरेको अभियोगमा निलम्बनमा पर्नुभएका संविधानसभा सदस्य आलेसहितका नेता कार्यकर्ताको कारबाही फुकुवा गर्ने निर्णय गरिएको हो ।
कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेको सभापतित्वमा बसेको कार्यसम्पादन समितिको बैठकले निलम्बित एवं राजीनामा दिएका ऋषिङ गाउँपालिकाअन्तर्गतका नेता कार्यकर्ताको सबै कारबाही फुकुवा गर्ने निर्णय भएको प्रवक्ता हरि वाग्लेले जानकारी दिनुभयो ।
सो गाउँपालिकाअन्तर्गत गाउँपालिकाका अध्यक्ष, वडाध्यक्षलगायतका उम्मेदवारीका विषयमा असन्तुष्टि जनाउँदै आलेसहित केही नेता तथा कार्यकर्ताले राजीनामा दिनुभएको थियो । ऋषिङको अध्यक्षमा कांग्रेसकै श्रीराम आलेले बागी उम्मेदवारी दिनुभएको थियो भने दुई वडामा कांग्रेसकै बागी उम्मेदवारले विजय हासिल गर्नुभएको थियो ।
नेपाली कांग्रेसले यही भदौ १२ गते विज्ञप्ति जारी गरी राजीनामा दिएकालाई मूलधारमा फर्कन आह्वान गरेको थियो । सोहीबमोजिम ऋषिङका नेता तथा कार्यकर्ताले भदौ १४ गते पार्टी कार्यालयमा सम्पर्क गरी आफूहरु पार्टीमा फर्किने प्रतिबद्धता जनाएका थिए ।
मङ्सिर ४ गते हुने निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई विजय गराउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकाले उम्मेदवार, प्रस्तावक र समर्थकको हकमा कारबाही फुकुवा गर्न जिल्ला कार्यसमितिबाट केन्द्रमा सिफारिस गर्ने र निलम्बित एवं राजीनामा दिएकाको हकमा कारबाही फुकुवाको निर्णय भएको प्रवक्ता वाग्लेले बताउनुभयो ।
