युक्रेन, ९ भाद्र । युक्रेनी रेल स्टेसनमा रुसले गरेको रकेट हमलामा परी २२ जनाको मृत्यु भएको युक्रेनले जनाएको छ।
मस्कोले युक्रेनमा आक्रमण सुरु गरेको ६ महिना पूरा भएको दिन उक्त घटना भएको हो।

पूर्वी सहर च्याप्लिनमा भएको आक्रमणका पीडितमध्ये पाँच जनाको सवारी साधन भित्रै जलेर मृत्यु भएको बताइएको छ। आक्रमणमा परी एक ११ वर्षीय बालकको पनि मृत्यु भएको छ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकबीच आक्रमणबारे जानकारी दिएका थिए। आक्रमणमा परी ५० जना घाइते भएको उहाँले बताउनुभयो ।

यस विषयमा रुसले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन। उसले पटकपटक आफूहरूले नागरिक पूर्वाधारलाई लक्षित गरी आक्रमण नगरेको बताउँदै आएको छ।

जेलेन्स्कीले आफू सुरक्षा परिषद्मा बोल्ने तयारी गरिरहेको बेला निप्रोपेट्रोभ्स्क क्षेत्रको च्याप्लिनमा भएको प्रहारबारे थाहा पाएको बताउनुभयो र भन्नुभयो संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकको लागि रुसले यस्तो तयारी गरेको छ।

अहिले चार वटा यात्रुवाहक सवारी साधनमा आगलागी भएको छ। त्यहाँ मृत्यु हुनेको सङ्ख्या बढ्न सक्छ, उहाँले भन्नुभयो ।

गत एप्रिलमा फरक रेल स्टेसनमा भएको आक्रमणमा ५० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

युक्रेनले बुधवार आफ्नो स्वतन्त्रता दिवस मनाएको छ र जेलेन्स्कीले यसअघि नै उक्त अवसरको उत्सवमा रुसले वाधा पुर्‍याउन क्रूर कार्य गर्न सक्ने बताउनुभएको थियो ।

यसअघि उहाँले मस्कोको सेनालाई जापोरीजा परमाणु ऊर्जा केन्द्रलाई युद्ध क्षेत्रमा परिणत गरेको आरोप लगाउनुभएको थियो । उहाँका अनुसार त्यहाँ भएको बमबारीका कारण केन्द्र र युरोपका मानिसहरू जोखिममा परेको र विश्वलाई परमाणु विपद्को नजिक पुर्‍याएको थियो।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले यस अर्थहीन युद्धका कारण युक्रेन र त्यहाँ बाहिरका लाखौँ मानिसहरूलाई चरम गरिबीमा धकेल्न सक्ने चेतावनी दिनुभयो ।

युक्रेनको स्वतन्त्रता दिवसको अवसरमा विश्वभर मानिसहरू युक्रेनको समर्थनमा जम्मा भएका थिए। उक्त अवसरमा विश्व नेताहरूले पनि यस सङ्कटग्रस्त राष्ट्रप्रति समर्थन व्यक्त गरेका थिए।

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन आफ्नो देशको समर्थन दर्शाउन किएभमा उपस्थित हुनुभयो । यद्यपि, उक्त अघोषित यात्राको क्रममा उहाँले नयाँ सैन्य सहायता अन्तर्गत करिब ६४ मिलियन डलर उपलब्ध गराउने घोषणा गर्नुभयो । अमेरिकी राष्ट्रपति जो बाइडनले घोषणा गरेको थप ३ बिलियन डलरको अगाडि जोनसनले तोकेको रकम निकै कम देखियो।
त्यस्तै अस्ट्रेलिया, जर्मनी, फिनल्यान्ड, पोल्यान्ड, टर्की र अन्य देशहरूले पनि समर्थनका सन्देशहरू पठाएका थिए। भ्याटिकनमा पोप फ्रान्सिसले युद्धको अन्त्य गर्न र युरोपको सबैभन्दा ठूलो जापोरीजा परमाणु ऊर्जा केन्द्रमा परमाणु प्रकोपको जोखिमलाई रोक्न ठोस कदमहरू चाल्न आह्वान गरे।

तर किएभका सडकहरू भने तुलनात्मक रूपमा शान्त थिए।बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर