रुकुम (पूर्व), २८ साउन । रुकुम(पूर्व) मा नेपाल प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक रविन्द्र श्रेष्ठसहित अन्य सुरक्षाकर्मी रहेका छन् ।
सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा प्रहरीको गाडी पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लो सेरामा दुर्घटनामा परेको हो । गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं–५ का नं वडाध्यक्ष टिकासाई घर्तीले जानकारी दिनुभयो ।
घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको छ । सदरमुकामबाट प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिनुभयो ।
गृहमन्त्री बालकृष्ण खाणले घाइतेको यथाशक्य उपचारको व्यवस्था मिलाउन गृह प्रशासन र रुकुमपूर्व प्रशासनलाई निर्देशन दिनुभएको छ । जिल्लास्थित स्रोतसाधनले घाइतेलाई अस्पतालसम्म पु¥याउन नसकिने भए मन्त्रालयमा खबर गर्न पनि गृहमन्त्रीले निर्देशन दिनुुभएको उहाँको सचिवालयले जनाएको छ ।
रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खस्दा डिएसपी डाँगीको टाउकोमा गहिरो चोट लागेको छ । प्रहरी जवान लक्ष्मण बुढा गम्भीर घाइले हुनुभएको छ । रुकुमपूर्वका सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ सामान्य घाइले हुनुभएको छ । जीपमा छ सुरक्षाकर्मी सवार भएको बताइएको छ ।
