काठमाण्डौं, २५ साउन । गत राति भएको घनघोर वर्षा र तत्जन्य बाढीले काठमाण्डौं उपत्यकाका विभिन्न ठाउँमा ठूलो क्षति पुर्याएको छ । तर मानवीय क्षति भने भएको छैन ।
राति १० बजे पश्चात् उपत्यकाको उतरपूर्वी इलाकामा धुमधामसित मानी परेको थियो । त्यसबाट आएको बाढीले काँडाघारी प्रहरी प्रभागको साथै त्यस वरपरका लगभग २ सय घर डुबायो ।
रातिदेखिनै त्यसक्षेत्रमा उद्धारको कार्य भैरहेको छ ।
त्यहाँको प्रहरीले दिएको जानकारी अनुसार, बाढीले सुकुम्बासीका छाप्राहरू बगाएको छ भने प्रहरी प्रभागको भूईंताला पूरै डुबायो । प्रभागको भण्डारमा राखिएका सरसामान र दुइटा मोटर साइकल बगायो । सबैतिर गरेर के कति क्षति भयो भन्ने जानकारी संकलन भैसकेको छैन ।
बाढीले मनोहरा नदी अजंगसित बढेको थियो । नदी उर्लेर आएपछि त्यसक्षेत्रका बासिन्दाहरू रातिनै घरछोडेर भाग्न बध्य भएका थिए । अहिलेसम्म सो नदी किनारका प्रायः बस्तीअरू डुबानमा छन्। बाढीले लत्ताकपडा, खाद्यान्नका सामाग्री र पशुचौपायासमेत बगाएको छ । केही घर टहरामा क्षति पनि पुगेको छ ।
प्रहरीले त्यस क्षेत्रबाट डुबानमा परेका तीन सय भन्दा बढी व्यक्तिको मंगलबार राति उद्धार गरेको छ । उद्धार गरिएकाहरूलाई कोटेश्वर बहुमुखी क्याम्पसमा राखिएको छ ।
