काठमाण्डौ, २१ साउन ।विश्व संस्कृत दिवसको अवसरमा प्रत्येक वर्ष प्रदान गरिने संस्कृत क्षेत्रको विशेष सम्मान र रु. १ लाख राशिको शोधवृत्ति क्रमश दीर्घराज घिमिरे र रोहिणीराज तिमिल्सिनालाई(रिसर्च फेलोशिप) प्रदान गरिने भएको छ ।
जरो किलो प्रतिष्ठान नेपालले यो विशेष सम्मान र शोधवृत्ति यसै वर्षदेखि प्रदान गर्ने निर्णय गरेको हो । यो जानकारी जरो किलो प्रतिष्ठानको अध्यक्ष बलराम प्रजापतिले दिनुभएको हो
अबदेखि हरेक बर्ष संस्कृतको क्षेत्रमा प्रभावकारी योगदान पुर्याएका वरिष्ठ एवं वयोवृद्ध विद्वान–विदुषीमध्येबाट एक जनालाई समष्टि योगदानको कदर हुने गरी विशेष सम्मान र संस्कृत माध्यमबाट प्राचीन वा आधुनिक विषयवस्तु बारे अनुसन्धानका लागि युवा पुस्ताका संस्कृतज्ञलाई यो शोधवृत्ति (रिसर्च फेलोशिप) प्रदान गरिनेछ ।
शोधवृत्ति (रिसर्च फेलोशिप) को नामकरण उपनिषद्कालीन ऋषि उद्दालक आरुणिको नामबाट भएको छ । ऋषि आरुणिलाई विज्ञानको आधारभूत विधि परीक्षण (एक्सपेरिमेन्टेशन) र पर्यवेक्षण (अब्जर्वेशन) को प्रयोगकर्ता र अनुसन्धानकर्ता मानिन्छ ।
प्रा. घिमिरेलाई नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापनका साथसाथै स्वतन्त्र रूपमा पनि अनुसन्धान, लेखन, प्रवचन आदि मार्फत् संस्कृतका क्षेत्रमा पुर्याउनुभएको समष्टि योगदानको कदर गर्दै यो विशेष सम्मान दिन लागिएको हो ।
अद्वैतवेदान्त दर्शनमा विद्यावारिधि शोधार्थी तिमिल्सिना संस्कृत पाठ्यपुस्तक लेखन, अनुवाद, अनुसन्धान एवं भाषा प्रशिक्षणमा सक्रिय रहनुभएको छ । तिमिल्सिनाले राज्यराष्ट्र पुस्तकलाई संस्कृत भाषामा अनुवाद एवं सम्पादन गर्नुभएको योगदानको कदर गर्दै आरुणि संस्कृत शोधवृत्ति प्रदान गरिएको हो ।
सम्मान र शोधवृत्ति मिति २०७९ साउन २७ गते आयोजना हुने पाँचौँ विश्व संस्कृत दिवसको मूल समारोहमा प्रदान गरिँदैछ । प्रत्येक वर्ष तिथिअनुसार श्रावण शुक्ल पूर्णिमा अर्थात् ऋषितर्पणीका दिनमा मनाइने विश्व संस्कृत दिवसको प्रारम्भ जरो किलो प्रतिष्ठान नेपालको आह्वानमा वि.सं. २०७५ सालदेखि भएको हो । यस वर्ष पाँचौँ विश्व संस्कृत दिवस नेपाल लगायत करिब ३० देशमा मनाइने अपेक्षा गरिएको छ ।
