काठमाडौं, २ चैत। म्यान्मारमा गत महिना सैन्य कू भएयताकै सबैभन्दा घातक दिनको रूपमा आइतवार भएका प्रदर्शनमा सुरक्षा फौजले कम्तिमा ३८ जना प्रदर्शनकारीहरूलाई मारिदिएको त्यहाँका अभियानकर्मीहरूले बताएका छन्।
द एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले मुख्य शहर याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा कम्तीमा २१ प्रदर्शनकारीहरू मारिएको जनाएको छ। बाँकी मृत्यु देशका विभिन्न भागमा भएका हुन्।
याङ्गुनमा प्रदर्शनकारीहरूले लाठी र छुरीको प्रयोग गरेपछि सुरक्षा फौजले गोली चलाएको थियो।
सैन्य कानुन लागु
त्यहाँको एक औद्योगिक क्षेत्रमा चिनियाँ व्यवसायमाथि हमला भएपछि याङ्गुनको धेरै भागमा सैन्य कानुन लागु गरिएको जनाइएको थियो।
चीनले म्यान्मारको सेनालाई सहयोग गरिरहेको प्रदर्शनकारीहरूले विश्वास गरिरहेका छन् फलामे डन्डी, बन्चरो र पेट्रोल बोकेका मानिसहरूले १० वटा चिनियाँ कारखानामा आगो लगाइदिएको जनाइएको छ।
क्षति पुग्नेमा धेरैजसो लुगा उत्पादन गर्ने कम्पनी र तिनका भण्डारणहरू रहेको जनाइएको छ। एउटा चिनियाँ होटलमा समेत हमला भएको बताइएको छ।
चिनियाँ दूतावासले के भन्यो?
आफ्नो फेसबुक पृष्ठमा चिनियाँ दूतावासले ‘केही उद्योगहरूमा लुटपाट गर्दै क्षति पुर्याइएको र चिनियाँ कामदारहरू घाइते हुनुका साथै त्यहाँ अड्किएको’ जनाएको छ।
दूतावासले म्यान्मारलाई ‘हिंसा रोक्न थप प्रभावकारी उपायहरू अपनाउँदै दोषीलाई कानुन अनुसार कारबाही गर्न र म्यान्मारमा रहेका चिनियाँ नागरिक एवम् सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न’ आग्रह गरेको थियो।फेब्रुअरी १ मा सेनाले शक्ति हातमा लिएयता म्यान्मारमा प्रदर्शनहरू भइरहेका छन्।–स्रोत वीवीसी