काठमाडौं– यही माघ ११ गतेदेखि दोस्रो बजारमा किनबेच हुने धितोपत्रको राफसाफ दुई कार्य दिनमा नै हुने भएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले धितोपत्र कारोबारलाई थप व्यवस्थित र थप सहज बनाउने लक्ष्यका साथ दुई कार्य दिनमा नै राफसाफ हुने व्यवस्था गरेको हो ।
उक्त व्यवस्थासम्बन्धी जानकारी दिँदै सिडिएससीले धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्योट संशोधित विनियमावली अनुसार कारोबार भएको समेत गरी तीन र कारोबार भएको बाहेक दुई कार्य दिनमा हुने व्यवस्था गरेको हो ।
धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्योट चक्र छोटिएसँगै बजारमा धितोपत्रको तरलतामा वृद्धि हुन गई समग्र पुँजी बजार थप चलायमान हुने विश्वास लिइएको सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य बताउँछन् ।
कम्पनीले दुई कार्य दिनभित्र कारोबारको राफसाफ गर्न धितोपत्र कारोबार राफसाफ तथा फछ्र्योट विनियमावली २०६९ को उपविनियम १३ लाई संशोधन गरी नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पेस गरेको थियो ।
बोर्डले गत पुस २४ गते उक्त विनियमवाली स्वीकृत गरेको थियो । सिडिएससीको सञ्चालक समितिको निर्णयानुसार माघ ११ गतेदेखि लागू हुने व्यवस्था गरेको छ ।