काठमाडौ, १३ साउन । अमेरिकी र चिनियाँ राष्ट्रपतिहरूबीच दुई घण्टा चलेको टेलिफोन संवादमा ताइवानको विषयलाई लिएर दुवैले एक अर्कालाई चेतावनी दिनुभएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ समकक्षी सी जिनपिङलाई उक्त टापुको हैसियत परिवर्तन गर्ने एक पक्षीय कदमको अमेरिकाले कडा विरोध गरेको बताउनुभयो ।

उहाँले ताइवानबारेको अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको पनि उल्लेख गर्नुभएको छ ।

बेइजिङले भने राष्ट्रपति सी ले बाइडनलाई एक चीन नीतिको सिद्धान्त पालना गर्न सम्झाएको र आगोसँग खेल्ने मान्छे जल्ने चेतावनी दिएको जनाएको छ।

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पलोसी ताइवान भ्रमणमा जान लागेको हल्लापछि अमेरिका र चीनबीच तनाव थप बढेको छ।

ताइवान छुट्ट्याउने प्रयासबाट युद्ध हुन सक्ने चीनको चेतावनी
अमेरिकाको परराष्ट्र मन्त्रालयले उनले कुनै त्यस्तो भ्रमण योजना घोषणा नगरेको बताएको छ भने चीनले उनले भ्रमण अघि बढाए गम्भीर परिणाम निम्तिन सक्ने चेतावनी दिएको छ।

बाइडनले गत साता पत्रकारहरूसँग भ्रमणमा जाने कुरा सेनाले राम्रो नहुने सोचेको बताउनुभएको थियो ।

तर उनको ह्वाइट हाउस प्रशासनले भ्रमणबाट चीनले गरेको चर्चा अनावश्यक र असहयोगी भएको उल्लेख गरेको छ।

उपराष्ट्रपतिपछिको बरियातामा रहेकी पलोसी ताइवान गएमा उहाँ सन् १९९७ पछि उक्त क्षेत्र भ्रमण गर्ने अमेरिकाको सबैभन्दा उच्च राजनीतिज्ञ हुनुहुनेछ ।

बिहीवारको टेलिफोन संवाद प्रत्यक्ष र इमानदार भएको प्रतिक्रिया दिँदै बाइडन प्रशासनका एक अधिकारीले उहाँहरूबीच प्रत्यक्ष भेटवार्ताको सम्भावनाबारे पनि छलफल भएको जानकारी दिए।

बाइडन अमेरिकाको उपराष्ट्रपति हुँदा उहाँको निमन्त्रणामा सन् २०१५ मा सी ले अमेरिका भ्रमण गरेका थिए। तर बाइडन राष्ट्रपति भएपछि दुई जना नेताको भेट भएको छैन।
चीनले ताइवानलाई आफ्नै देशबाट अलग रहेको प्रदेशका रूपमा हेर्ने गरेको छ र यो देशकै एक भूभाग बन्नुपर्ने ठान्दै आएको छ। यसका लागि बल प्रयोग हुनसक्ने सम्भावनालाई पनि चीनले अस्वीकार गरेको छैन।

तर वासिङ्टनले ताइपेईको कूटनीतिलाई एक चीन नीति अन्तर्गत स्वीकार गरेको छैन। अमेरिकाले प्रजातान्त्रिक शासन व्यवस्था रहेको स्वशासित ताइवानको आत्मरक्षाका लागि हतियार विक्री गर्दै आएको छ।

ह्वाइट हाउसका अनुसार दुई नेताहरूबीच ताइवान बाहेक जलवायु परिवर्तन र स्वास्थ्य सुरक्षाका विषयमा पनि छलफल भएको थियो।बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर