काठमाडौ, १ चैत । संसारकै सबैभन्दा पुरानो कम्प्युटर को सङ्ज्ञा दिइएको एउटा २,००० पुरानो यन्त्रले कसरी काम गर्थ्यो भन्ने गुह्य पत्ता लागेको वैज्ञानिकहरूले बताएका छन् ।
त्यसका लागि उनीहरूले त्यसको पुनर्रचना गरेका थिए ।
एन्टिकाइथेरा मेकनिजम नाम दिइएको उक्त उपकरण रोमनकालमा ग्रीसमा बिग्रिएको एउटा पानीजहाजको भग्नावशेषमा सन् १९०१ मा फेला परेको थियो ।
उक्त उपकरण चलाउन हातले दम दिनुपर्थ्यो । त्यसको प्रयोग ग्रहण र अन्य खगोलीय घटनाको गणना गर्न हुने गरेको अनुमान गरिएको छ ।
तर भेटिँदा उक्त उपकरणको एकतिहाइ भाग मात्र यथावत् थियो । त्यसैले अनुसन्धानकर्ताहरूले सग्लो अवस्थामा उक्त उपकरण कस्तो देखिन्थ्यो र त्यसले कसरी काम गर्थ्यो होला भन्ने अनुमान गर्नुपरेको थियो ।
पहिला भएका अध्ययनहरूबाट उक्त यन्त्रको पृष्ठभागबारे धेरै कुरा पत्ता लागेको थिए ।
तर अग्रभागको जटिल गिअरिङ प्रणाली बुझ्न सकिएको थिएन ।
कसरी भयो रहस्योद्घाटन
यूनिभर्सिटी कलेज लन्डनका वैज्ञानिकहरूले थ्रीडी कम्प्युटर मोडलिङ प्रयोग गरेर त्यसको पनि रहस्योद्घाटन गरिएको बताएका छन् ।
उनीहरूले पूरै अग्रभागको प्रारूप बनाएका छन् र आधुनिक सामग्री प्रयोग गरेर पूर्ण स्वरूपमै एन्टिकाइथेरा यन्त्रको प्रतिलिपि बनाउन सकिने अपेक्षा गरेका छन् ।
फेला पर्दा यो उपकरणको दुईतिहाइ भाग नष्ट भइसकेको थियो
शुक्रवार साईअन्टिफिक रिपोर्ट्स नामक जर्नलमा प्रकाशित शोधले गिअरिङ प्रणालीको वृत्तान्त र त्यसका जटिल भागबारे चर्चा गरेको छ ।
उक्त शोधपत्रका मुख्य लेखक प्राध्यापक टोनी फ्रीथले भन्नुभयो ,सूर्य, चन्द्रमा र ग्रहहरूलाई प्राचीन ग्रीक कौशलअनुसार प्रभावकारी रूपमा देखाइएको छ ।
हाम्रो मोडल सबै भौतिक प्रमाणसँग र उक्त यन्त्रमा उल्लिखित वैज्ञानिक अभिलेखसँग मेल खाने पहिलो मोडल हो, उहाले भन्नुभयो ।
यो उपकरणको विशेषता के हो
उक्त उपकरणलाई एउटा ज्योतिषीय वा खगोलीय क्याल्क्युलेटर तथा संसारकै पहिलो एनलग कम्प्युटर का रूपमा प्रस्तुत गरिएको छ ।
ढलोट प्रयोग गरेर निर्माण गरिएको यो उपकरणमा दर्जनौँ गिअरहरू छन् ।
पृष्ठभागको ढकनीमा ब्रह्माण्डीय संरचनाको वर्णन छ । त्यसमा उक्त उपकरण निर्माण गर्दा चिनिएका पाँचवटा ग्रहहरूको गति देखाइएको छ ।
सन् १९०१ उक्त उपकरणका ८२ वटा टुक्रा फेला परेका थिए ।
वैज्ञानिकहरूले एक्सरे डेटा र प्राचीन ग्रीन गणितीय पद्धति प्रयोग गरेर पूर्ण आकृतिको पुनर्रचना गरेका थिए ।बीबीसी