युगवाणी समाचारदाता
हेटौंडा, ६ साउन । नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशन आज सुरु भएको छ । यो महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार दिउँसो गर्नुभयो ।
दुइ दिन सम्म चल्ने यस अधिवेशनबाट युनियनको तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चुनिने छ ।
यो युनियन नेपालको पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेसको शुभेच्छुक संगठन हो । यसमा प्रजातन्त्रमा विश्वास गर्ने पत्रकारहरू मात्र आवद्ध छन् ।
महाधिवेशनमा भाग लिन देशभरबाट त्यस्तै पत्रकार, युनियनका प्रतिनिधि तथा शुभेच्छुक गरी करिब दुई हजार जना हिजोदेखि हेटौंडामा भेला भएका छन् ।
नयाँ नेतृत्व चुन्न लागेको यस युनियनमा आवद्ध पत्रकारहरूमा पनि नेपाली काँग्रेसको गुटगत प्रभाव परेको छ । यी पत्रकारहरू दुई खेमामा विभाजित छन् । यौटालाई नेपाली काँग्रेस शेखर समूहको समर्थन र सहयोग छ भने अर्कोलाई देउवा समूहको ।
शेखर कोइराला समूहको समर्थन र शुभेच्छा रहेको खेमाले पत्रकार शिव लम्साललाई र देउवा पक्षीय काँग्रेसको सहयोग रहेको खेमाले पत्रकार अनिता बिन्दुलाई सभापतिको उम्मेदवार बनाएको छ ।
आज विधान संशोधन लगायतका विषयहरू पारित गर्ने र भलि चुनावको कार्यक्रम छ । नेतृत्वमा जान चाहनेहरू आआफ्नो प्रचारमा व्यस्त छन् ।
युनियनको बैधानिक व्यवस्था अनुसार हरेक तीन वर्षमामा नयाँ नेतृत्व चुन्नुपर्दछ । तर यसपटक आठ बर्षपछि यो युनियनले नयाँ नेतृत्व पाउँदै छ । त्यसैले पनि यो महाधिवेशन पुरै चुनाव केन्द्रित देखिएको छ ।
