श्रीलङ्का, ४ साउन । श्रीलङ्कामा सांसदहरूले प्रधानमन्त्री रनिल विक्रमसिङ्घलाई आममानिसमाझ रहेको उहाँको अलोकप्रियताबीच देशको नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित गरेका छन्।

विक्रमसिङ्घसामु टाट पल्टिएको देशलाई सहज अवस्थासम्म पुर्‍याउने र महिनौँको विरोध प्रदर्शनपछि सार्वजनिक सुव्यवस्था पुनर्स्थापित गर्ने जिम्मेवारी छ।

उहाँले बुधवार संसद्‌मा भएको मतदानमा प्रमुख प्रतिपक्षी दलले समर्थन गरेका डल्लस अलाहपेरुमलाई पराजित गर्नुभएको हो ।

गत साता तत्कालीन राष्ट्रपति गोटाबय राजपक्ष देश छाडेर भागेका थिए।

हजारौँ प्रदर्शनकारी राष्ट्रपति निवास तथा अन्य सरकारी कार्यालयहरूमा बलजफती छिरेर राजपक्षको राजीनामा माग गरेपछि उनी माल्दिभ्स हुँदै सिङ्गापुर पुगेका थिए।

प्रदर्शनकारीहरूले गत मे महिनामा प्रधानमन्त्री नियुक्त भएका विक्रमसिङ्घको समेत राजीनामा माग गरेका थिए।

प्रदर्शनकारीहरूले उहाँको निजी निवासमा आगजनी गर्दै उहाँको सरकारी निवास कब्जा गरेका थिए।

यद्यपि विक्रमसिङ्घले त्यस्ता मागलाई बेवास्ता गर्दै आएका थिए।

राजपक्षले देश छाडेपछि उहाँले स्वतः कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गर्दै आउनुभएको थियो ।

बुधवारको जितको अर्थ उहाँले सन् २०२४ को नोभेम्बरसम्म बाँकी राष्ट्रपतीय कार्यकाल सम्हाल्नुहुने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर