काठमाडौँ, ३१ असार । श्रीलङ्कामा विरोधप्रदर्शन चर्किएपछि अकस्मात् देशबाट पलायन भएर सिङ्गापुर पुगेका राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिएका छन्।
अभूतपूर्व आर्थिक सङ्कटको विरोधमा देशमा विरोधप्रदर्शन भइरहेका बेला उनी मङ्गलवार राति भागेर माल्दिभ्स पुगेका थिए। उनीसँग उनकी पत्नी र दुई अङ्गरक्षक पनि थिए।उनी माल्दिभ्सबाट सिङ्गापुर साउदी एअरलाइन्सको एउटा विमानमा चढेर गएका थिए।
राजपक्ष सिङ्गापुरमै बस्छन् वा अन्यत्र जान त्यो उनको बिसौनी मात्र हो भन्ने स्पष्ट छैन।
सिङ्गापुर सरकारले उनलाई “निजी भ्रमणका लागि आफ्नो देशमा प्रवेश” दिएको बताएको छ।
यसअघि उनले बुधवारभित्र राजीनामा दिने बताएका थिए। तर उनले बुधवार त्यस्तो कुनै पत्र पठाएनन्।
यद्यपि बिहीवार अबेर श्रीलङ्काको संसद्का सभामुखले राजपक्षले राजीनामापत्र पठाएको जानकारी दिएका छन्।
राष्ट्रपति हुँदा अभियोगहरूबाट उन्मुक्ति पाएका राजपक्ष नयाँ सरकार बनेपछि हुनसक्ने गिरफ्तारीबाट जोगिन विदेश भागेको अनुमान गरिएको छ।
उनी सिङ्गापुरमा उत्रिएको पुष्टि गर्दै त्यहाँको विदेश मन्त्रालयले भनेको छ, “उनले शरण मागेका छैनन्, न त उनलाई कुनै शरण दिइएको छ। सिङ्गापुरले सामान्यत: शरणको अनुरोध स्वीकार गर्दैन।-श्रोत बीबीसी
