काठमाडौ, ३० असार । श्रीलङ्कामा विरोधप्रदर्शन चर्किएपछि अकस्मात् देशबाट पलायन भएर माल्दिभ्स पुगेका राष्ट्रपति गोटाबय राजपक्ष त्यहाँबाट सिङ्गापुरतिर गएको विभिन्न स्रोतहरूले बीबीसीलाई बताएका छन्।

उनी माल्दिभ्सबाट सिङ्गापुर जाने साउदी एअरलाइन्सको एउटा विमानमा चढेको बताइएको छ।

अभूतपूर्व आर्थिक सङ्कटको विरोधमा देशमा विरोधप्रदर्शन भइरहेका बेला उनी मङ्गलवार राति भागेर माल्दिभ्स पुगेका थिए। उनीसँग उनकी पत्नी र दुई अङ्गरक्षक पनि थिए।

राजपक्ष सिङ्गापुरमै बस्छन् वा अन्यत्र जान त्यो उनको बिसौनी मात्र हो भन्ने स्पष्ट छैन।

गोटाबय राजपक्ष अब कहाँ जालान् भन्ने धेरैको जिज्ञासा छ। तर सोधिनुपर्ने सबैभन्दा महत्त्वपूर्ण प्रश्न उनलाई कसले आश्रय देला भन्ने हो।

राजपक्ष अहिले सिङ्गापुरतर्फ लागेका छन्। त्यो उनको मध्यपूर्व जाने ट्रान्जिट मात्र हो वा उनी त्यहीँ बस्छन् भन्ने स्पष्ट छैन। अनि बसिहाले भने त्यहाँ कति समयका लागि बस्छन् भन्ने पनि थाहा छैन।

तर स्रोतहरू के भन्छन् भने सिङ्गापुर सरकारले उनलाई त्यहाँ लामो समयसम्म बस्न दिन्छ भन्ने कुरा सन्देहपूर्ण छ।

उक्त समृद्ध सानो राष्ट्रले विगतमा विवादास्पद व्यक्तित्वहरूलाई बस्न दिएका उदाहरणहरू छन्। उदाहरणका लागि, सिङ्गापुरमा बर्माका सैन्य नेता थेन सेन, जिम्बाब्वेका रोबर्ट मुगाबे र उत्तर कोरियाका किम जङ अन पनि त्यहाँ बसेका थिए।

तर राजपक्षलाई लामो समयसम्म आश्रय दिने उनीहरू पनि तयार नहुन सक्छन्।

किनभने राजपक्ष युद्धअपराधको आरोप लागेका व्यक्ति हुन्। त्यसले गर्दा उनी विश्वव्यापी गहिरो छानबिनको दायरामा जान सक्छन्।

उनी देश आर्थिक रूपले ध्वस्त भएका बेला भागेका छन्। सिङ्गापुरले त्यति धेरै अन्तर्राष्ट्रिय आलोचनलाई पक्कै थाम्न सक्नेछैन।

सिङ्गापुरका अधिकारीहरूले आफ्नै जनताबाट पनि आलोचना खेप्नुपर्नेछ किनकि पछिल्ला वर्षहरूमा सिङ्गापुरका जनताहरू पनि निकै मुखर बन्न थालेका छन्।

उक्त देशमा उल्लेख्य मात्रामा तमिल समुदायका मानिसहरू छन्। तीमध्ये कतिपय श्रीलङ्कासँग परम्परागत सम्बन्ध भएकाहरू पनि छन्।

राजपक्ष रक्षामन्त्री भएका बेला हजारौँ तमिल सर्वसाधारणको हत्या गर्न उनले अनुमति दिएको आरोप पनि लाग्ने गरेको छ।

उनको उपस्थितिले सिङ्गापुरस्थित कैयौँ तमिलहरू क्रुद्ध हुनेछन्। त्यसले त्यहाँ कायम शान्ति खल्बलिन सक्छ।बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर