श्रीलंका, २९ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे परिवारसहित देश छोडेर भागेपछि श्रीलंकामा अनिश्चितकालका लागि संकटकाल घोषणा गरिएको छ।
प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सङ्कटकाल घोषणा गरेको त्यहाँको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
देशको पश्चिमी प्रान्तमा कर्फ्यु लगाइएको छ। देशलाई आर्थिक संकटमा पुराउन राजापाक्षे परिवार नै मुख्य कारक तत्व रहेको भन्दै आक्रोशित रहेका आम श्रीलंकाली नागरिकहरुले गत शनिबार राष्ट्रपतिको निवास कब्जा गरी राष्ट्रपतिले राजीनामा नदिएसम्म निवास नछोड्ने घोषणा गरेका थिए।
प्रदर्शन तीव्र बनेपछि गोटाबायाले आज राजीनामा दिने जानकारी सभामुखले दिएका छन् ।
गोटाबायाले राजीनामा नदिइ भागेर माल्दिभ्स पुगेका छन्। गोटाबाया भागेर माल्दिभ्स पुगेपछि राजधानी कोलोम्बोमा प्रदर्शनकारीले खुसीयाली मनाइरहेका छन्।
श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्र भएदेखि नै सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गर्दै आएको छ। यसले गर्दा देशभर खाद्य, औषधि, खाना पकाउने ग्यास र इन्धन जस्ता अत्यावश्यक वस्तुहरूको व्यापक अभाव भएको छ।
