काठमाण्डौं, २० असार । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीको तर्फबाट मन्त्रिपरिषद्मा सामेल तीन जना मन्त्री हटाएर सोही पार्टीका अन्य तीन जनालाई मन्त्री बनाउनु भएको छ ।
आज नियुक्त भएका नयाँ मन्त्रीहरूमा प्रदीप यादव (वन तथा वातावरण), मोहम्मद इस्तियाक राई (भौतिक निर्माण तथा यातायात) र मृगेन्द्रकुमार सिंह यादव (कृषि)हुनुहुन्छ ।
उहाँहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा आज नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयको एक विज्ञप्तिमा जनाइएको छ ।
नयाँ मन्त्रीहरूले आजै साँझसम्ममा शपथ लिने कार्यक्रम छ ।
यसअघि जसपाका अध्यक्ष उपेन्द्र यादवले हिजो आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी पार्टीको निर्णय अनुसार तीन मन्त्रीलाई हटाउन र ती ठाउँमा नयाँ मन्त्री नियुक्त गर्न सिफारिस गर्नुभएको थियो ।
जसपाले मन्त्रीबाट हटाएकाहरूमा रामसहाय यादव, महिन्द्रराय यादव र मन्त्री रेणु यादव हुनुहुन्छ।
यसैगरी सत्ता गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीले पनि एक साता अघि मात्र आफ्नो दलका मन्त्रीहरू हटाएर नयाँलाई मन्त्री बनाएको थियो ।
अहिले जसपाको तर्फबाट मन्त्री हुनेमा चार जना छन् । ती मध्ये सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई भने फर्ता बोलाइएको छैन ।
जसपा अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराईबीच उत्पन्न मनोमालिन्यको कारण अहिले यो पार्टी विभाजनको अवस्थामा पुगेको छ ।
पार्टीमा आफ्नो वर्चस्व कायम राख्न अध्यक्ष यादवले आफू पक्षीय नेताहरूलाई मात्र नयाँ मन्त्री बनाउनु भएको छ भने फिर्ता नबोलाइएका मन्त्री श्रेष्ठ पहिले भट्टराईको साथमा भए पनि अहिले यता आएर उपेन्द्र यादवतिरै लाग्नुभएको छ । त्यसैले उहाँलाई फिर्ता नबोलाइएको हो ।
यादवसित मन नमिलेपछि बाबुराम भट्टराईले जसपा छाड्ने बिन्दुमा पुगिसक्नुभएको छ ।
अब नयाँ पार्टी खोल्ने वा अन्य कुनै पार्टीमा मिल्ने टुंगो भने भट्टराई र उहाँका पक्षधरले गरिसकेका छैनन् ।
यसैगरी सत्ता गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीले पनि एक साता अघि मात्र आफ्नो दलका मन्त्रीहरू हटाएर नयाँलाई मन्त्री बनाएको थियो ।
